Fast Nepal News

बोक्सीको आरोपमा मलमूत्र खुवाइयो, श्रीमान्‌ले कुटिरहे

banner single news

काठमाडौँ — २२ असोज २०७८

काठमाडौँ , एकैचोटि पेट र खुट्टा दुखेपछि ललितपुरको महालक्ष्मी–६ गँसी लुभुकी सुष्मा श्रेष्ठ महर्जनले श्रीमान् जितेन्द्रलाई गुहारिन् । उनले स्कुटर स्टार्ट गरे र नागार्जुन नगरपालिका–३ ठूलोभर्‍याङस्थित सानोबुबा नाता पर्ने दीपेन तामाङ भन्ने दीपेन्द्रकुमार थिङको कोठामा पुर्‍याए । श्रीमान्ले अस्पताल लगेर उपचार गराउलान् र दुखाइ कम होला भन्ने उनको आशा थियो । एकाएक थिङकहाँ पुर्‍याएपछि के भइरहेको छ भन्ने सुष्मालाई पत्तै भएन । भदौ १८ को उक्त दिन त्यस कोठामा जे भयो, त्यसले सुष्मालाई कहिल्यै बिर्सन नसक्ने शारीरिक र मानसिक चोट दियो । लामा झाँक्रीको काम गर्ने थिङलाई जितेन्द्रले भनेका थिए, ‘झारफुक गरिदेऊ ।’ त्यसपछि थिङले आफ्नो काम सुरु गरे र अचानक सुष्मालाई भने, ‘तपाईंको शरीरमा बोक्सी चढेको छ ।’ लगत्तै धूपको धूवाँ सुँघाइदिए । त्यसपछि उनी काँप्न थालिन् ।

थिङले ‘तँ नै बोक्सी होस्, अब बोक्सी भगाउनुपर्छ’ भन्दै श्रीमान् जितेन्द्रलाई दुवै हात समाउन लगाए । त्यस क्रममा थिङले आफ्नो गालामा पटक–पटक हातले हिर्काएको सुष्माले सुनाइन् । ‘काठको लट्ठी, रुद्राक्षको माला र लात्तीले समेत कुटपिट गरिरहे,’ उनले कान्तिपुरसँग भनिन् । आफूमाथि कुटपिट हुँदा श्रीमान्ले रोक्लान् भन्ने लागेको थियो उनलाई । तर श्रीमान्ले उल्टै थिङकै शैलीमा ढाड र कम्मरमा नीलडाम हुने गरी पटक–पटक कुटपिट गरिरहे । यहीबीच पाण्डे भनिने जनार्दन पाण्डे र दसनारायण महर्जनसमेत थपिए । अब भने सबैले सुष्मामाथि लट्ठी र लात्ती बर्साउन थाले । कपाल भुत्ल्याए । उनले पटकपटक ‘म बोक्सी होइन, कुटपिट नगर्नु’ भन्दै प्रतिवाद गरिरहिन् । त्यति नै बेला थिङले दसनारायण र जितेन्द्रलाई शौचालयबाट दिसा ल्याउन लगाए । ‘दसनारायणले पहिले सिन्कामा दिसा ल्याएर खुवायो । अर्कोचोटि प्लास्टिकको चम्चामा ल्याएर खुवायो,’ सुष्माले भनिन्, ‘थिङले कुकुरको दिसासमेत ल्याउन लगायो ।’

निर्घात कुटपिटले थलिएकी सुष्मालाई त्यो रात थिङकैमा छाडेर उनका श्रीमान् घर फर्किए । भोलिपल्ट पुगेका उनले घाइते सुष्मालाई जबर्जस्ती नुहाउन लगाए । थिङ, जितेन्द्र र दसनारायण मिलेर फेरि झारफुक गर्ने भन्दै अनवरत तीन घण्टा कुटपिट गरेको उनको भनाइ छ । उनका अनुसार त्यसपछि श्रीमान्ले नदुख्ने औषधि किनेर खान दिएका थिए । त्यो दिन आफूलाई झारफुक गरेको, कुटेको र मलमूत्र खुवाएको भिडियो श्रीमान्ले खिचेको उनले बताइन् । ‘सासूलाई देखाउन भिडियो खिचेको भन्थे,’ उनले भनिन् । त्यस दिन उनलाई जितेन्द्रले कीर्तिपुरस्थित माइतीघर लगेर छाडिदिएका थिए ।
Inside Article Ads

जताततै नीलडाम र सुन्निएको शरीर देखेपछि आमा रूपा श्रेष्ठ आत्तिइन् र तत्कालै कीर्तिपुर अस्पताल पुर्‍याइन् । ‘अस्पतालमा कोरोना संक्रमित बिरामी धेरै भएकाले भर्ना लिएन, चेक गरेर फर्कियौं,’ सुष्माले भनिन्, ‘चिकित्सकले मेरुदण्डमा असर परेको र कम्मरको मासु च्यातिएको छ भनेर औषधि दिनुभएको छ, अझै औषधि सेवन गरिरहेकी छु । थेरापी चलिरहेको छ ।’ कुटपिट र अमानवीय यातना खेपेकी सुष्माको दुखाइ कम हुँदै गएको छ तर त्यस दिनको घटना सम्झिँदा उनी झस्किन्छिन् । ‘राति झस्किने, चिच्याउने गरिरहन्छिन्, घरमा एक्लै बस्न सक्दिनन्,’ आमा रूपाले भनिन्, ‘जतिबेलै साथी बसिदिनुपर्छ ।’

सुष्माका माइती पक्षले २२ भदौमा प्रहरीमा उजुरी गरेपछि मात्रै घटना सार्वजनिक भएको हो । सुष्माका श्रीमान् जितेन्द्र, ३६ वर्षीय थिङ, मामाससुरा ५२ वर्षीय महर्जन र पाण्डे भदौ २८ मा पक्राउ परे । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका चारमध्ये सुष्माका पति जितेन्द्र र झाँक्री थिङलाई बोक्सीको आरोपसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाएको छ । अपराधमा संलग्न महर्जन २ लाख रुपैयाँ र पाण्डे ५० हजार रुपैयाँ धरौटीमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत डीएसपी नरेन्द्र चन्दले बताए । बोक्सीको आरोपमा यातना भोगेकी सुष्माले विवाह भएको तीन महिनादेखि नै श्रीमान्बाट यातना सहँदै आएको बताइन् । ‘सासूससुराको कुरा सुनेर कुटपिट गर्नुहुन्थ्यो, परिवार बिग्रिने डरले सहेर बसें,’ उनले भनिन्, ‘परिवारका सदस्यबाहेक आफन्त, छिमेकीसँग समेत बोल्न हुँदैनथ्यो । शंका गरिहाल्ने, पराई मान्छेसँग नाम जोड्ने र पिट्ने गर्नुहुन्थ्यो ।’ उनको विवाह भएको चार वर्ष बितेको छ । २१ महिनाकी छोरी छिन् । भदौ १८ को घटनापछि आफ्नो मन मरेको उनको भनाइ छ । ३० वर्षीया सुष्मा भन्छिन्, ‘स–सानो कुरालाई लिएर दिनरात शारीरिक तथा मानसिक यातना भोग्दै आएँ, अब सहन सक्दिनँ ।’

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.