Fast Nepal News
Banner Below header

रक्सौल-काठमाडौं रेलमार्ग अध्ययन गर्न समझदारी

banner single news

नयाँदिल्ली — २२ असोज २०७८

नयाँदिल्ली , भारतको रक्सौलदेखि काठमाडौंको चोभारसम्म रेलमार्गको ‘फाइनल लोकेसन’ सर्वेक्षण गर्न भारतसँग समझदारी भएको छ । नेपालको रेल विभागका महानिर्देशक दीपक भट्टराई र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग भूषणले बिहीबार नयाँदिल्लीमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार नेपाल सरकारको सहयोग र समन्वयमा भारतले सर्वेक्षण गर्नेछ । अध्ययन सुरु भएको १८ महिनाभित्र काम सक्ने समझदारी छ । भारतले केही वर्षदेखि रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि सहयोग गर्ने संकेत दिँदै आएको छ । त्यहीअनुसार भारतको कंकोन रेल्वे कर्पोरेसन लिमिटेडले सन् २०१८ मा उक्त रेल मार्गको निर्माणबारे प्रारम्भिक अध्ययन गरेको थियो । त्यस अध्ययनले रेल निर्माणको सम्भावना देखाएपछि विस्तृत अध्ययनको बाटो खुलेको हो । तीन वर्ष अगाडि गरिएको प्रारम्भिक सर्वेक्षणले रक्सौलदेखि काठमाडौंको चोभारसम्मको रेलमार्गको दूरी १ सय ३६ किलोमिटर हाराहारी हुने रिपोर्ट दिएको थियो । अबको अध्ययनले रेलमार्गका लागि वातावरणीय, भौगोलिक, भूगर्भलगायतका विषयले कति साथ दिन्छ भन्ने विषयमा पनि विस्तृत अध्ययन हुनेछ ।

दिल्लीमै रहेका रेल विभागका प्रवक्ता अमन चित्रकारले विस्तृत अध्ययनको विषयमा सहमति हुनु रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि महत्त्वपूर्ण भएको बताए । विस्तृत अध्ययनले रेलमार्ग निर्माणको सन्दर्भमा धेरै पक्षको अध्ययन गर्नेछ । ‘त्यस अध्ययनबाट रेलमार्ग निर्माण गर्न सकिने रिपोर्ट आयो भने निर्माण कार्यको बाटो खुल्छ,’ चित्रकारले भने । दिल्लीमा रेलसम्बन्धी दुइटा बैठक भएका थिए । नेपाल र भारतबीच अन्तरदेशीय रेलमार्गसम्बन्धी सातौं प्रोजेक्ट स्टेरिङ कमिटीको बैठकमा रक्सौल–काठमाडौं रेल मार्गका विषयमा समझदारी भएको हो । पाँचौं वर्किङ ग्रुपको बैठकमा भारत–नेपालबीच पाँचवटा सीमामा निर्माण गरिने अन्तरदेशीय रेल लाइनको कामलाई गति दिने सहमति भएको छ । जयनगर–जनकपुर–कुर्था–बर्दिबास, बथनाहा–विराटनगर, पानी ट्यांकी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्मको रेल लिंक निर्माण भारत सरकारको सहयोगमा भइरहेको छ । त्यसमध्ये जयनगर–जनकपुरको काम सम्पन्न भइसकेको छ ।

Inside Article Ads

त्यसको अर्को खण्ड बर्दिबासको काम जारी छ । त्यस्तै विराटनगरमा पनि काम जारी छ । प्रवक्ता चित्रकारले ती दुवै स्थानको कामलाई गति दिएर जतिसक्दो छिटो रेल सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । बाँकी तीन स्थानको काम दोस्रो चरणको अध्ययनपछि प्रारम्भ गर्ने छलफल भएको उनले जानकारी दिए । सन् २०१० मा नेपाल र भारतबीच पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने विषयमा समझदारी भएको थियो । रेलमार्गका विषयमा छलफल गर्न भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माको नेतृत्वमा रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईसहित ७ जनाको टोली दिल्ली आएको हो । भारतीय पक्षबाट कार्यदलको नेतृत्व रेल बोर्डका कार्यकारी निर्देशक मनोज सिंहले गरेका थिए ।    

( कान्तिपुर दैनिक )

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.