Fast Nepal News

अल्मुताइरीको छड्के नजर

banner single news

माले, माल्दिभ्स —  २१ असोज २०७८

माले, माल्दिभ्स,  साफ च्याम्पियसिप २०२१ मा बिहीबार नेपालको खेल रहेको छैन । तेस्रो खेल दिनमा नेपाल छाडेर सहभागी अन्य चार टोली मैदानमा उत्रनेछन् । यो दिनको दुई खेल नेपालका लागि उत्तिकै महत्त्वपूर्ण हुनेछ, किनभने यिनै खेलका नतिजाले प्रतियोगितामा नेपाल कहाँनिर छ र कता पुग्नेछ भनेर निर्धारण गर्नेछ । यस्तोमा यी दुवै खेलप्रति नेपालको नजर हुनेछ । विशेषतः नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको छड्के नजर हुनेछ । बिहीबार पहिलो खेलमा भारतले श्रीलंकाको सामना गर्नेछ । अर्को खेलमा डिफेन्डिङ च्याम्पियन तथा आयोजक माल्दिभ्सले बंगलादेशविरुद्ध खेल्नेछ । राउन्ड रोबिनका आधारमा चलेको प्रतियोगितामा नेपाल भने शीर्षस्थानमा छ । नेपालको दुई खेलबाट ६ अंक छ । नेपालले दुवै खेल जितेर सानदार सुरुआत लिएको छ । ‘म्याच डे थ्री’ को नतिजा जस्तै भए पनि खाली बंगलादेशसँग मात्र नेपाललाई उछिन्ने अवसर हुनेछ ।

 बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेसनल स्टेडियममा बुधबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबैभन्दा बढी आत्मविश्वासी रहे, बंगलादेशी प्रशिक्षक ओस्कार ब्रुजन । उनले भने, ‘अहिले हाम्रो बंगलादेशी टिम एकजुट भएर अगाडि बढिरहेको छ । यो टिममा हामी भन्ने भावना छ । खासमा बिहीबारको खेलमा सबैखाले चुनौती र दबाब भनेको माल्दिभ्सकै टिमलाई हो । किनभने उसले आफ्नो पहिलो खेल नेपालसँग गुमाएको छ ।’ माल्दिभ्सको क्लब फुटबलमा पनि बाक्लो अनुभव रहेका स्पेनी प्रशिक्षक ब्रुजनले थपे, ‘माल्दिभ्सले हामीविरुद्धको खेलमा अंक गुमाउँछ भने प्रतियोगिताबाट बाहिरिने स्थिति हुनेछ । हाम्रो उद्देश्य भनेको यो खेलबाट सक्दो बढी अंक बटुल्ने हो र आफ्नो स्थिति अझ बलियो बनाउने हो ।’ बंगलादेशको यो लगातार तेस्रो खेल हुनेछ । टोलीले अन्तिम खेलमा नेपालकै सामना गर्नेछ । नेपालको सामना गर्नु अगाडि बंगलादेश आफ्नो स्थितिलाई लिएर ढुक्क हुन चाहेको पनि उनले सुनाए । माल्दिभ्सका प्रशिक्षक अली सुजेन भने केही हदसम्म ‘ब्याक फुट’ मा देखिए । उनले माने, टिममाथि चर्को दबाब छ ।
त्यसैले उनले यो खेल आफ्नो टिमका लागि फाइनलजस्तै रहेको सुनाए । उनले भने, ‘नेपालविरुद्धको खेलमा केही खास भुल भएका छन् । त्यसलाई सच्याएर खेल्ने प्रयास गर्नेछौं ।’ सन् २००३ देखि बंगलादेशले माल्दिभ्सलाई हराएको भने छैन । तर, बिहीबारको खेलमा इतिहासको कुनै अर्थ नहुने प्रशिक्षक सुजेनको विश्वास छ । खेलाडी छँदा लामो ‘डेडलक’ कपालका लागि चर्चित सुजेन अहिले पनि यही स्वरुपमा छन् । उनले थपे, ‘पुरानो इतिहास पल्टाएर हामी बलियो थियौं भन्नुको कुनै अर्थ छैन । कुनै समय हामी बंगलादेशसँग ८–९ गोलले पराजित भएका थियौं । वर्तमानमा हामीलाई बंगलादेशविरुद्ध आफूअनुकूल नतिजा चाहिएको छ र हामी त्यसमै केन्द्रित छौं ।’ यी दुई टोली राति अबेरको खेलमा मैदान उत्रनेछन् । त्यसअघि कीर्तिमान सातपल्टको विजेता भारत र श्रीलंकाले खेल्नेछन् । भारतसँग १ अंक छ भने श्रीलंकासँग कुनै अंक छैन । लगातार दुई खेल खेलेको श्रीलंका दुवैमा पराजित छ । त्यसैले श्रीलंका प्रतियोगिताबाट लगभग बाहिरिइसकेको स्थितिमा छ । तर, श्रीलंकाली प्रशिक्षक आमिर एलगिच पूरा स्थितिलाई फरक दृष्टिकोणले हेर्छन् । एलगिच भन्छन्, ‘हामी अहिले उत्साही छौं । भलै, हामीले दुवै खेल गुमाएका छौं । यी दुवै खेलमा श्रीलंकाको प्रदर्शन उत्साहबर्द्धक रह्यो । हामीले दक्षिण एसियाली फुटबलमा श्रीलंका पनि छ भनेर देखायौं ।’  
Inside Article Ads

त्यसैले उनी मान्छन्, भारतविरुद्धको खेलमा श्रीलंकन खेलाडी अझ आत्मविश्वासी र सुदृढ भएर मैदान उत्रनेछन् र भारतलाई सक्दो दुःख दिने प्रयास गर्नेछन् । भारतलाई थाहा छ, दुई खेल हारेको श्रीलंका घाइते बाघजस्तै भएको छ । यसले तेर्स्याउने चुनौती पक्कै चानचुने हुने छैन । भारतका प्रशिक्षक इगोर स्टिमेक भन्छन्, ‘श्रीलंकाको सामना गर्नु पक्कै पनि सजिलो हुनेछैन । हाम्रो खेल रणनीति भने पूरा ३ अंक बटुल्ने हुनेछ, हामी फेरि अंक गुमाउन सक्ने स्थितिमा छैनौं ।’ यसबीच सबै परिस्थिति नेपाली प्रशिक्षक अल्मुताइरीले मालेबाट १० किलोमिटर टाढा रहेको ब्यान्डोस टापुबाट सूक्ष्म निरीक्षण गरिरहेका छन् । उनले प्रत्येक पलको घटनाबारे सूक्ष्म अध्ययन गरिरहेका छन् । उनले अघिल्लो प्रतिस्पर्धा सकिएलगत्तै बोलेका थिए, ‘म्याच डे थ्री’ मा पक्कै केही आश्चर्यजनक नतिजा आउन सक्नेछ । सोझो अर्थमा भन्दा बिहीबारका खेलको नतिजा नेपालको पक्षमा होस् भन्ने नै हो, जुन शतप्रतिशत स्वाभाविक पनि छ ।

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.