
काठमाडौँ — २० असोज २०७८
काठमाडौँ , सरकारले ‘३८ क्विन्टल सुन तस्करीमा संलग्न’ भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदन बुझाएको ३९ महिना पुगिसक्दा पनि प्रतिवेदनमा उल्लेख गरिएका ‘संलग्न’ व्यक्तिमाथि अनुसन्धान गरिएको छैन । समितिका संयोजक पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ वर्षको अवधिमै तस्करीबाट ३८ क्विन्टल सुन भित्रिएको जानकारी दिँदै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए । प्रतिवेदन बुझ्दै ओलीले तस्करीमा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका थिए । ‘प्रतिवेदन सरकारी सम्पत्ति भइसकेको छ, सार्वजनिक गर्ने/नगर्ने कुरा सरकारको हो,’ हाल कोलकातास्थित महावाणिज्यदूत रहेका पौडेलले कान्तिपुरसँग भने, ‘हामीले त सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार गरेर बुझाएका हौं ।’ प्रधानमन्त्री कार्यालयले प्रतिवेदन अध्ययनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।
( कान्तिपुर दैनिक )
