Fast Nepal News

तेक्वान्दोमा पुरानै नेतृत्व, राखेपको निर्देशन अवज्ञा

banner single news

लुम्बिनी — १७ असोज २०७८

लुम्बिनी,  नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाशशम्शेर राणाले नै निरन्तरता पाएका छन् । भैरहवामा शनिबार सम्पन्न चौथो अधिवेशनबाट राणा सर्वसम्मत अध्यक्षमा चयन भए । तेक्वान्दो संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चौथो अधिवेशन नगर्न जारी गरेको सूचना अटेर गर्दै निर्वाचन सम्पन्न गरेको हो । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा सञ्जीव रेग्मी, हरीश्वर पोखरेल र नन्दुकुमार राई चुनिए । उपाध्यक्षका प्रत्याशी भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि उनीहरू सर्वसम्मत भए । महासचिवमा दीपराज गुरुङले निरन्तरता पाए भने कोषाध्यक्षमा कासिम मियाँ धोबी चुनिए ।

सदस्यमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोसिस खड्का सर्वसम्मत चुनिए । संघीय सांसद प्रमोद यादवले चौथो अधिवेशनको उद्घाटन गर्दै तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएकाले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । उद्घाटन समारोहमा सञ्जीव रेग्मी र कासिम मियाँलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरियो । अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्दबहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीले ३० हजार, राई र नेपालीले समान १५ हजारसहित अवार्ड थापे । रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई सम्मानित गरियो । अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता थियो ।

Inside Article Ads

अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिए । उनले देशका विभिन्न पालिकामा तेक्वान्दो विकास समिति गठनको काम पनि निरन्तर रूपमा भइरहेको बताए । २०३९ सालमा नेपाल मार्सल आर्ट्स संघअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै संघमा स्थापित भएको हो । लामो समय तदर्थवादमा सञ्चालन हुँदै आएको संघको २०६६ मा वीरगन्जमा पहिलो पटक निर्वाचन भएको थियो । २०७० मा दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो । राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र तेक्वान्दो संघको स्वीकृत विधानविपरीत परिषद्को स्वीकृति नलिई विद्यमान खेलकुदसम्बन्धी कानुनविपरीत अधिवेशन गर्न लागेको देखिएकाले परिषद्को असोज ११ को निर्णयअनुसार ऐनको दफा २८ को उपदफा (ड) बमोजिम तेक्वान्दोको चौथो अधिवेशन अर्को व्यवस्था नभएसम्म स्थगित गर्नका लागि सूचना जारी गरेको थियो ।

( कान्तिपुर दैनिक )

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.