
काठमाडौँ — १७ असोज २०७८
काठमाडौँ , मापदण्ड नपुगेका निजी नर्सिङ शिक्षण संस्थाको स्वार्थमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रमाणपत्र तहसरहको पीसीएल नर्सिङको भर्ना र पठनपाठन रोकिएको छ । स्रोतका अनुसार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको मिलेमतोमा मापदण्ड पुगेका कलेजको पनि भर्ना रोकेर राखिएको हो । राज्यमन्त्री श्रेष्ठ र उपाध्यक्ष अधिकारी दुवै निजी नर्सिङ कलेज र सीटीईभीटीका निजी कार्यक्रम सञ्चालक हुन् । सीटीईभीटीले नर्सिङबाहेक स्वास्थ्यतर्फको एचए, फार्मेसी, ल्याबलगायत सबै विषय, इन्जिनियरिङ, कृषि र पर्यटनतर्फको प्रवेश परीक्षा सम्पन्न गरेर नतिजा प्रकाशित गरिसकेको छ । ती विषयको प्रवेश परीक्षामा सफल हुने विद्यार्थी कलेज छनोट र भर्नामा छन् तर नर्सिङतर्फका विद्यार्थीले प्रवेश परीक्षा लागि आवेदन दिनसमेत पाएका छैनन् । सीटीईभीटीले १ सय ९ मध्ये अधिकांश मापदण्ड नपुगेका कलेजको स्वार्थमा आफ्नै आंगिक शिक्षण संस्थामा समेत भर्ना खुलाएको छैन । पीसीएल नर्सिङ पढ्न हरेक वर्ष २० हजारभन्दा बढी विद्यार्थीले आवेदन दिने गर्छन् । अहिले भर्ना र पठनपाठन रोकिँदा करिब चार हजार छ सय विद्यार्थीले नर्सिङ पढ्न पाउने अवसर गुम्ने जोखिम बढेको छ ।
