
सल्यान — १५ असोज २०७८
सल्यान , जिल्ला अस्पताल परिसरमा ब्लड बैंक सञ्चालन गर्न एक वर्षअघि भवन निर्माण भए पनि अन्य पूर्वाधार नहुँदा रक्तसञ्चार केन्द्र सञ्चालनमा आउन सकेको छैन । आवश्यक उपकरण तथा जनशक्ति अभावमा ब्लड बैंकको काम अलपत्र परेको हो । गम्भीर अवस्थाका बिरामीको अस्पतालमै सहज उपचार गराउने गरी ब्लड बैंक सञ्चालन गर्न खोजिएको थियो । तर भवनबाहेक अन्य पूर्वाधार नहुँदा रक्तसञ्चार केन्द्र अलपत्र परेको हो । रेडक्रस सोसाइटीले प्रदेश सरकारको २० लाख रुपैयाँ अनुदानमा गत वर्ष ३ कोठे भवन निर्माण गरेको थियो । रेडक्रसकै समन्वयमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने अस्पतालको तयारी छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार उपकरण र आवश्यक सामग्री रेडक्रसले उपलब्ध गराउने भने पनि अझै खरिद प्रक्रिया अघि बढेको छैन । जनशक्ति व्यवस्थापनमा पनि समस्या भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए । ‘ब्लड बैंक भए रगतका लागि दैनिकजसो रक्तदातालाई गुहार्नुपर्ने थिएन,’ उनले भने, ‘कहिलेकाँही त कसको ग्रुप के हो भन्दै सोधेर रक्तदान गराउनुपर्ने बाध्यता छ ।’ उनले रगतको मौज्दात भए आकस्मिक अवस्थाका बिरामीले अस्पतालमै सहज उपचार पाउने बताए । केन्द्रीय कार्यालयले खरिद प्रक्रिया अघि नबढाउँदा रक्तसञ्चार केन्द्र सञ्चालनमा समस्या भएको रेडक्रस सभापति यौवनप्रकाश श्रेष्ठले बताए । ‘भवन बनिसकेको भन्दै हामीले बारम्बार केन्द्रीय कार्यालयसँग उपकरण माग गरिरहेका छौं,’ उनले भने, ‘पहिले केन्द्रकै सल्लाहमा ब्लड बैंक स्थापनाको प्रक्रिया अघि बढाइएको हो, अहिले बेवास्ता भएपछि समस्या भएको छ ।’ उनले अस्पतालको स्तरबृद्धि भएकाले तत्काल बैक आवश्यक परेको बताए ।
( कान्तिपुर दैनिक )
