
कालीकोट — १५ असोज २०७८
घरदेखि विद्यालयसम्म छुवाछूत हुने छाउपडी प्रथाविरुद्ध यहाँका किशोरीले अभियान थालेका छन् । कक्षाकोठामै छाउपडीविरुद्ध छलफल हुन थालेपछि यो प्रथा न्यून हुँदै गएको छ । ‘पहिले गुपचुपमै लुकाइने छाउपडी प्रथाविरुद्ध अहिले कक्षामै अन्तर्क्रिया चलाउन थालेका छौं,’ नरहरिनाथ–३ स्थित रमा माविकी कक्षा ९ की छात्रा कमला वुढाले भनिन्, ‘हाम्रो अभियानपछि अभिभावकले हामीलाई छाउगोठमा पठाउन हच्किएका छन् ।’ उनले छाउपडी भएको बेला घरभित्र बस्न नपाइने, दूध, दही तथा पोसिलो खानेकुरा खान नपाइने, घरका अरु सदस्यलाई छुन नपाइने चलन अझै कालीकोटका गाउँहरूमा कायम रहेको बताइन् । महिनावारी हुँदा खानाभन्दा बढी पिरलो सुत्ने ठाउँको हुने विद्यालयकी अर्की छात्रा ममता महताराले बताइन् । ‘घरको तुलनामा विद्यालयमा विभेद कम भए पनि महिनावारी स्वच्छतासम्बन्धी छुट्टै कोठा नहुँदा प्याड फेर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘पहिले त छाउ भएको बेला विद्यालय पनि नआउने चलन थियो ।’ उनले घरमा आमाबाबुले नै महिनावारीसम्बन्धी कुसंस्कार भोग्दै र मान्दै आएकाले पूरै हटाउन कठिन भएको गुनासो गरिन् ।
( कान्तिपुर दैनिक )
