
काठमाडौँ — १४ असोज २०७८
काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दलको अवरोध खुलाउने विषयमा संवादका लागि अझै कोसिस गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरुका सुझाव सुनेपछि संसद्को कार्यसञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी दलसँगको संवादका लागि अझै कोसिस गर्ने बताएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो । बैठकमा संघीय संसद्मा भइरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ‘आजको मुख्य एजेण्डा भनेकै संसद् सञ्चालनका बारेमा थियो । तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नै अनुपस्थित भयो । सम्बन्धित पक्ष नै नआएपछि बैठक निष्कर्षमा पुग्ने कुरा भएन,’ पौडेलले इकान्तिपुरसँग भनिन्, ‘त्यसैले संवादका लागि पहल कदमी जारी राख्ने कुरा भयो । सबै नेताहरुले त्यही सुझाव राख्नुभयो । प्रधानमन्त्रीज्यूले पनि संवादलाई अघि बढाउँछु भन्नुभएको छ ।’
