
काठमाडौँ — १४ असोज २०७८
काठमाडौँ , एमालेको आसन्न विधान महाधिवेशनमा राजनीतिक कार्यदिशा, आगामी निर्वाचनका लागि रणनीति, सांगठनिक संरचना जस्ता एजेन्डामा केन्द्रित हुने भएको छ । विभाजनले पार्टीलाई धक्का लागेको निष्कर्षमा पुगेको एमालेले संगठन निर्माणलाई महाधिवेशनको मुख्य कार्यसूची बनाएको छ । महाधिवेशनमार्फत नै चुनाव केन्द्रित रणनीति बनाउने तयारी पनि गरिएको छ । एमालेको शुक्रबारदेखि हुने पहिलो विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक प्रतिवेदन र विधानको मस्यौदामा छलफल गरेर अनुमोदन गर्ने तयारी छ । एमाले सचिव प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ पहिलो शक्ति बनाउन निर्णय गर्ने बताए । ‘एमाले आज पनि राष्ट्रिय राजनीतिको केन्द्रमा छ,’ उनले भने, ‘निर्वाचन नजिक छ । चाहे नियमित कार्यतालिकाअनुसार १४ महिनापछिको चुनाव होस्, चाहे विभिन्न कारणले अर्ली इलेक्सन होस्, पार्टीलाई बहुमत प्राप्त दलका रूपमा स्थापित गर्न महाधिवेशनले वैचारिक, संगठनात्मक र भावनात्मक रूपले थप सुदृढ गर्नेबारेमा निर्णय गर्नेछ ।’ महाधिवेशनलाई निर्वाचन केन्द्रित बनाउनै एमालेले पालिकास्तरसम्मका जनप्रतिनिधिलाई सहभागी गराउँदै छ ।
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयमा सर्वोच्च अदालतले गरेको फैसला र त्यसपछि बनेको नयाँ सरकारलाई लिएर एमालेले प्रश्न उठाउँदै आएको छ । एमालेको बुझाइमा यी घटनाक्रमले लोकतन्त्र र संविधानमा खतरा पैदा भएको छ । ‘पछिल्लो समय विकसित घटनाक्रम खास गरेर सर्वोच्च अदालतको परमादेश, राजनीतिक दलसम्बन्धी अध्यादेश र यसबीचमा विभिन्न संवैधानिक अंगबाट खेलिएको भूमिकाले मुलुकको लोकतन्त्र, संविधानको मर्म र राजनीतिक स्थायित्वमाथि गम्भीर चुनौती खडा गरेका छन्,’ सचिव ज्ञवाली भने, ‘एमालेले संविधानको रक्षा, कार्यान्वयन र विकास, लोकतन्त्रको सुदृढीकरणका लागि अग्रपंक्तिमा रहेर भूमिका खेल्नेछ । त्यससम्बन्धमा हामी महाधिवेशनमार्फत निर्णय गर्नेछौं ।’
कसरी हुँदै छ महाधिवेशन ?
ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा देशैभरबाट पाँच हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् । विधानमा यो महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य प्रतिनिधि हुने व्यवस्था छ । तर परिषद् गठन हुन नसकेकाले एमालेले विधानको बाधा अड्काउ फुकाउ धारा प्रयोग गर्दै प्रतिनिधि छनोटको मापदण्ड खुकुलो बनाएर धेरैलाई सहभागी गराउन लागेको हो । विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्य, प्रदेश कमिटीका सम्पूर्ण सदस्य, केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, जनसंगठनका केन्द्रीय पदाधिकारी र वरिष्ठ सदस्य गरी १० जना, जिल्ला कमिटीका पदाधिकारी, संघीय र प्रदेशका सांसद, एमाले पार्टी सदस्य रहेका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, एमालेबाट निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रवास कमिटीबाट पनि प्रतिनिधित्व गराइँदै छ । जिल्लाको निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई र एक दलितलाई अनिवार्य गरिएको छ ।
तीन हजार सिट क्षमता रहेको हलमा विशेष व्यवस्था गरेर सबै प्रतिनिधि अटाउने गरी व्यवस्था गरिएको छ । नअटेका प्रतिनिधिहरूलाई टेन्टमा राख्ने तयारी छ । प्रतिनिधिहरूका लागि परिचयपत्र, झोला, दस्तावेज, स्वास्थ्यसम्बन्धी किट्स तयार गरिएका छन् । हल, प्रतिनिधिका लागि खाना, यातायातलगायत तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । ‘प्रतिनिधिको नामावली संकलनको काम अन्तिम चरणमा पुगेको छ,’ सचिव ज्ञवालीले भने । पहिलो दिन शुक्रबार उद्घाटनपछि समूह विभाजन र तीन वटै दस्तावेज वितरण गरिनेछ । शनिबार समूहगत छलफल गर्ने र आइतबार छलफलका साझा निष्कर्ष हलमा प्रस्तुत गर्ने कार्यसूची छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले तीन वटा दस्तावेजमा छलफलका लागि ११ वटा समूह बनाउने तयारी रहेको जानकारी दिए । महाधिवेशन प्रतिनिधिका लागि परिचयपत्र र महाधिवेशनका लागि चाहिने सामग्री केन्द्रीय कार्यालयबाट उपलब्ध गराइँदै छ ।
प्रतिनिधिहरूलाई कार्यक्रम स्थलसम्म पुर्याउन सातदोबाटोबाट सटल बसहरूको व्यवस्था गरिएको ज्ञवालीले बताए । ‘त्यहाँसम्म उहाँहरू सार्वजनिक वा निजी गाडीमा आउन सक्नुहुन्छ । त्यहाँबाट महाधिवेशन स्थलसम्म पार्टीले प्रबन्ध गरेका बसहरूले पुर्याउँछन् । बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था महाधिवेशन स्थलमै हुन्छ । साँझको खाना र बस्ने प्रबन्ध सम्बन्धित पार्टी कमिटीहरूले गर्छन्,’ उनले भने, ‘कहीँकतै त्यस्तो समस्या पर्यो भने सात वटै प्रदेशका सम्पर्क कमिटीहरूले थप प्रबन्ध गर्छन् ।’
( कान्तिपुर दैनिक )
