
वीरगन्ज — १३ असोज २०७८
वीरगन्ज , भदौ अन्तिम साता वीरगन्ज–१७ सिवान टोलस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षा महाशाखाको टोली अनुगमनमा जाँदा एक जना कार्यालय सहयोगीबाहेक कोही भेटिएनन् । महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दकुमार कर्ण नेतृत्वको टोली बिहान ११ बजे विद्यालयमा पुग्दा न शिक्षक थिए न विद्यार्थी नै । कक्षाकोठा र कार्यालय पनि अस्तव्यस्त थियो । विद्यालयका प्रधानाध्यापक वृजकिशोर पाण्डेलाई तत्काल बोलाएर स्पष्टीकरण सोधियो । असोज ५ मा अनुगमन टोली वीरगन्जको बहुअरीमा रहेको शारदा माध्यमिक विद्यालयमा साढे २ बजे पुग्दा पठनपाठन बन्द भइसकेको थियो । शिक्षक नभएकाले घर आएको विद्यार्थीले गुनासो गरे । विद्यालयका एक शिक्षकले वैशाख ९ देखि असोज ५ को बीचमा एक दिन पनि हाजिरी नगरेको पाइयो । लामो समयसम्म हाजिर नगर्ने शिक्षक र प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको छ । कोरोना न्यून भएपछि सञ्चालनमा आएको वीरगन्जको नगवास्थित शुक्रराज विद्यालयमा शिक्षक र विद्यार्थीको हाजिरी नै छैन । अनुगमन गरिएका अधिकांश विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्डसमेत पालना गरिएको छैन ।
‘अनुगमनका नाममा हामी विद्यालय र शिक्षक पछ्याउँदै हिँडेका होइनौं, शिक्षक भनेको बुद्धिजीवी समुदाय हो, पेसागत रूपले पोख्त हुनुहुन्छ,’ कर्णले भने, ‘हामी पछ्याउँदा स्कुल चल्ने नपछ्याउँदा नचल्ने होइन । विगत लामो समयदेखि विद्यालय बन्द थिए । माहोल मिलेको थिएन । हाम्रो अनुगमनले त्यो माहोल बनाउने काम गरेको छ ।’ वीरगन्ज महानगर मातहत ९० वटा सामुदायिक विद्यालय छन् । जसमध्ये दुईवटा विद्यालयको विभिन्न सुविधाहरू रोक्का गरिएको छ । सञ्चालनमा नदेखिएकाले दुई वटा विद्यालयको सुविधा रोक्का गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
( कान्तिपुर दैनिक )
