
काठमाडौँ — ११ असोज २०७८
काठमाडौँ , पेप्सीकोला–सल्लाघारी सडकखण्डको निकोसेरामा रङ पसल राखेका राजु बुढाथोकी पानी पर्नासाथ आत्तिन्छन् । नआत्तिऊन् पनि किन ! पानी पर्नेबित्तिकै पसलअघिको सडकमा ‘खोलो’ बग्छ । सवारी चालकहरूले पानीमुनि कहाँ खाल्डो छ, मेसो पाउँदैनन् । जसले गर्दा दैनिकजसो दुर्घटना भइरहन्छ । यहाँको दुई सय मिटर सडक सवारी चालक र पैदलयात्रीका लागि धराप बनेको छ । ‘पानी परेपछि साना सवारी दुर्घटनामा नपरेको दिन हुँदैन,’ बुढाथोकीले भने, ‘पसल अगाडि दुर्दशा छ, कोही खाल्डोमा परे उद्धार त गर्नुपर्यो नि ।’ कार्यालय, कलेज वा कामका लागि निस्कनेहरू सडकबाट मात्रै होइन सवारीले उछिट्याउने हिलोले थप समस्यामा छन् । यही सडक भएर दुवाकोट, सरस्वतीखेल, झौखेल, सल्लाघारीलगायत स्थानीय काठमाडौंतर्फ जान्छन् । मुख्य सडकबाट जाँदा धेरै ट्राफिक जाम पर्ने हुँदा धेरैको रोजाइको सडक यही हो । ‘यो खण्ड त दुर्घटनाको पासो जस्तै बनेको छ,’ बुढाथोकीले भने, ‘सुरुमा स्थानीयले काम गर्न दिएनन्, अहिले निर्माण व्यवसायीले नै काममा चासो दिएका छैनन् ।’
‘अहिलेसम्म घर भत्किएका छैनन्, भत्काउन खोजे अवरोध हुन्छ,’ उनले भने, ‘यो खण्डमा ओभरले (पिचमाथि पिच) को काम हुनेछ ।’ अर्को समस्या खस्याङखुसुङ पुल खण्डमा छ । फागुनसम्म सबै काम सक्ने लक्ष्य रहेको उनले बताए । मध्यपुर थिमि नगरपालिका–९ का अध्यक्ष रामकाजी चक्रधर स्थानीयले अवरोध गर्दा निर्माणमा ढिलाइ भएको बताउँछन् । ‘बढी समस्या भएको निकोसेरामा ग्राभेल राखेर सवारी चल्ने बनाइएको छ,’ उनले भने, ‘सुरुमा निर्माण व्यवसायीले काम गर्छौं भन्दै आए, स्थानीयले विरोध गरेर रोके, अब दसैंअघि कालोपत्र हुने देखिँदैन ।’ ज्वाइन्ट भेन्चरमा ठेक्का भए पनि निर्माणको जिम्मा उमा एन्ड कम्पनीले लिएको हो । कम्पनीका प्रमुख वासु खड्काले काम ढिलाइ हुनुमा स्थानीयको दोष रहेको आरोप लगाए । ‘ठेक्का सम्झौताअनुसार ३० महिनाको म्याद दिइएको थियो,’ उनले भने, ‘सुरुमा स्थानीयले दायाँबायाँ घर भत्काउन दिएनन् । काम गरेको सडकमा मेयरले डोजर नै ल्याएर भत्काइदिए, केही समय मुद्दामामिला पनि चल्यो ।’ पानी जम्ने खण्डमा कालोपत्र गरेर काम नहुने भएकाले आरसीसी ढलान गर्न आयोजना कार्यालयसँग माग गरिएको खड्काले बताए । ‘ठेकेदारले काम गरेनन् भन्छन्,’ उनले भने, ‘तर, स्थानीयले काम गर्न दिँदैनन्, कसरी समयमै सकिन्छ ?’
( कान्तिपुर दैनिक )
