
काठमाडौँ — सरकारले मेलम्ची खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गरी खानेपानी नियमित आपूर्ति गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आवश्यक मर्मत तथा पुनःस्थापन गरी पानी आपूर्ति गर्ने प्रतिस्थापन बजेटमार्फत घोषणा गरेका हुन् । गत असारमा मेलम्चीमा आएको बाढीले अम्बाथानस्थित हेडवर्क्सलगायतमा क्षति पुर्याउनुका साथै करिब ८ किमि सडक संरचना बगाउँदा आयोजना अवरुद्ध छ । मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक बगाउँदा गाडी सञ्चालन हुन सकेका छैनन् । दुई पटकको बाढीले २ अर्ब ४५ करोड रुपैयाँको क्षति पुगेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
अस्थायी तरिकाले पानी पथान्तरण गर्न तत्काल भौतिक तथा पूर्वाधार मन्त्रालय, नदी नियन्त्रणमा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहयोग गर्नुपर्ने उनको भनाइ छ । यसअघि आयोजनाले अस्थायी मुख्य बाँधको मुखमा अस्थायी सुरुङ बनाई पानी पठाउने गरेको थियो । ‘हेडवर्क्सलार्ई बाढीपछि बालुवा, गिट्टीले छोपेको छ । मुहान क्षेत्रको सडक र अम्बाथानका दुईवटा बेलिब्रिज, तिम्बु र हल्देका मोटरेबल पुल बगाएको छ,’ पन्तले भने, ‘अडिट सुरुङसम्म पुग्न पनि गाह्रो भइराखेको छ ।’ मुहाननजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको थियो । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक चिनियाँ र दुई भारतीयको मृत्यु भएको थियो ।
( कान्तिपुर दैनिक )
