
काठमाडौँ — तत्कालीन केपी ओली सरकारले स्थानीय तहमा न्यूनतम रोजगारी ग्यारेन्टी गर्न कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई शेरबहादुर देउवा सरकारले पनि निरन्तरता दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट आकारलाई यथावत् राखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम मन्त्रालयको सबैभन्दा ठूलो बजेट भएको कार्यक्रम हो । यसअघि ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी ग्यारेन्टी गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
( कान्तिपुर दैनिक )
