जाजरकोट — २५ भाद्र २०७८
जाजरकोट , गोविन्दबहादुर सिंह जिल्लाको विकट मानिने बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् । उनी प्रत्येक शुक्रबार घाँटीमा दूरबिन र क्यामेरा भिर्दै झोलामा बास बस्ने सरसामान जोहो गरी जंगलतिर निस्कन्छन् र आइतबार बिहान मात्र कार्यस्थल पुग्छन् । निजी सोखमा उनले प्रकृतिका केही नयाँ तथ्य बाहिर ल्याउने काम गरिसकेका छन् । जस्तो कि, गत वर्ष उनले नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जंगलमा सुनगिद्ध र सेतोगिद्धको जोडीले चल्ला कोरलेको पत्ता लगाएका थिए । विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएका ती गिद्धको संरक्षण पनि उनकै व्यक्तिगत खर्चमा भइरहेको छ । बारेकोट विश्वमै दुर्लभ वन्यजन्तु र पन्छी पाइने क्षेत्र हो । बारेकोटमा १ सय ८६ प्रकारका विभिन्न जडिबुटीसँगै रेडपाण्डा, सुनगिद्ध, चिरकालिज, कस्तूरीलगायतका लोपोन्मुख वन्यजन्तु र पन्छीको बासस्थान छ ।
( कान्तिपुर दैनिक )