Fast Nepal News

संघीयताविपरीत जिल्लास्तरीय संरचना ब्युँताइँदै

banner single news

विराटनगर —   २५ भाद्र २०७८     

विराटनगर , अल्पमतमा परेका मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारले संघीयताको मर्मविपरीत स्थानीय तहमा हस्तान्तरण भइसकेका जिल्लास्तरका पुरानै संरचना ब्युँताउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सार्वजनिक सेवा गुणस्तरीय, प्रभावकारी र व्यवस्थित गर्न प्रदेशस्थित प्रत्येक जिल्लामा एकीकृत संगठन संरचना तयार गरी सेवा प्रवाह गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशस्थित १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयअन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण तिवारीले बताए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय र खानेपानी, सिँचाइ, ऊर्जा, जलश्रोतलगायतका विषयका कामकारबाहीलाई प्रभावकारी बनाउन जिल्ला खानेपानी तथा जलस्रोत व्यवस्थापन कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताए ।

महालेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन २०७८ मा साविकका स्थानीय तहमा हस्तान्तरण भइसकेका जिल्लास्तरका विषयगत कार्यालयहरूकै प्रकृतिको काम गर्ने प्रदेश सरकारले कृषि, घरेलु, स्वास्थ्य, सहरी विकास र भवन कार्यालयलगायतका १ सय ७० वटा कार्यालय स्थापना गरेकोप्रति प्रश्न उठाएको छ । प्रतिवेदनमा संघीय सरकारले खारेज गरेका क्षेत्रीय निर्देशनालय जस्ता कार्यालयहरू प्रदेश सरकारले पुनःस्थापना गरेकोप्रति पनि प्रश्न उठाएको छ । महालेखाले उठाएको प्रश्न र दिएको सुझावलाई बेवास्ता गर्दै प्रदेश सरकारले जिल्लास्तरको संरचना निर्माण गर्ने निर्णय गरेको हो । राजनीतिक विश्लेषक कृष्ण पोखरेलले अल्पमतमा परिसकेको र सरकारको आयु निश्चित नभएको अवस्थामा गरेको यी यस्ता निर्णयले संघीयता बदनाम गराउने काम मात्रै भएको टिप्पणी गरेका छन् । ‘भविष्य अनिश्चित रहेको सरकारले गर्ने निर्णयको कुनै अर्थ रहँदैन,’ उनले भने, ‘सरकारमा हुँदा हामीले यस्तो निर्णय गर्‍यौं भनेर जनतालाई ढाँट्ने उद्देश्यले सरकार सञ्चालनको औचित्य रहँदैन ।’ प्रदेशभरि कुन र कस्ता सेवाहरू दिने र त्यसका लागि के कस्ता संगठन संरचना निर्माण गर्ने त्यसका लागि विस्तृत अध्ययन हुनु आवश्यक रहेको पोखरेलको भनाइ थियो । उक्त अध्ययनका आधारमा ओएनएम सर्भेका आधारमा कर्मचारी भर्ना गरेर खटाउनुपर्ने उनको भनाइ थियो ।

Inside Article Ads
अर्थविज्ञ प्रा.डा. वेदराज आचार्यले कोरोना महामारीले प्रदेशको अर्थतन्त्र खुम्चिएका बेला अल्पमतमा परेका प्रदेश सरकारले गरेको व्ययभार बढाउने निर्णय प्रदेश र जनताप्रति बेइमानी भएको टिप्पणी गरेका छन् । ‘प्रदेशमा स्रोतको अभावमा दर्जनौं योजना अल्पत्र रहेको अवस्थामा कार्यालय स्थापना गरेर खर्च बढाउनुको औचित्य छैन,’ उनले भने, ‘कोरोना महामारीबीच अहिले भएकै संगठन संरचनाको उपयोग गरी बढीभन्दा बढी प्रदेशवासीलाई सेवा उपलब्ध गराउनुको विकल्प छैन ।’ प्रतिपक्षी दल माओवादीका नेता तथा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अल्पमतमा परिसकेको सरकारले दीर्घकालीन असर पार्ने उक्त निर्णय गठबन्धनमा सामेल दललाई स्वीकार नहुने बताए । प्रदेश सरकारले गरेको उक्त निर्णयप्रति उनले आपत्ति जनाउँदै सम्बन्धित निकायलाई निर्णय कार्यान्वयन नगर्न आग्रह गरे । उनले अब बन्ने गठबन्धनको सरकारलाई प्रदेश सरकारले गरेको यो निर्णय स्वीकार्य नहुने पनि बताए ।
 ‘संघीय निजामती ऐन बनेपछि प्रदेशसभाले प्रदेश निजामती ऐन बनाएर प्रदेशमा ओएनएम सर्भे गरेपछि मात्रै संगठन संरचना निर्माण हुनुपर्ने हो,’ उनले भने, ‘अहिलेसम्म प्रदेशमा न त निजामती ऐन बन्न सकेको छ न त ओएनएम सर्भे नै भएको छ ।’ जिल्लास्तरमा कार्यालय स्थापना गर्ने निर्णयका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ तर त्यो पनि नलिई प्रदेश सरकारले हचुवाको भरमा गरेको निर्णय स्वीकार्य नहुने आङ्बोको भनाइ थियो ।प्रदेश १ मा एमाले छाडेर १० जना प्रदेश सांसदले नेकपा (एकीकृत समाजवादी) रोज्न निर्वाचन आयोगको कार्यालय प्रदेश १ मा सनाखत गरेपछि मुख्यमन्त्री आचार्यको सरकार अल्पमतमा परेको हो । ९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्यसहित एकल बहुमत रहेको एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेपछि ४१ मा खुम्चिएर मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् ।  

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.