Fast Nepal News

हालसम्मकै धेरै संक्रमित, ३ साताको निषेधाज्ञापछि पनि उपत्यकामा कोभिड संक्रमणमा कमी आएन

banner single news

तर विज्ञ भन्छन्– निषेधाज्ञा मात्रै विकल्प होइन
काठमाडौँ, भाद्र २७ – कोरोनाबाट शुक्रबार हालसम्मकै बढी १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसको करिब आधा संख्या त काठमाडौं उपत्यकाकै छन् । तीन साताको निषेधाज्ञापछि पनि उपत्यकामा कोभिड संक्रमणमा कमी आएको छैन, बरु बढेको छ ।
शुक्रबारको नतिजाअनुसार मुलुकमा सय जनाको परीक्षण गर्दा करिब १४ जनामा कोभिड संक्रमण देखिएको छ । संक्रमणको दर १३.५८ प्रतिशत छ । यसअघि यो दर ६.३२ प्रतिशत थियो । शुक्रबार देखिएका संक्रमितमध्ये करिब ३२ प्रतिशत महिला छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले केही दिनयता मोटामोटी रूपमा देशभरि देखिने कुल संक्रमितको आधाजति उपत्यकाका हुने गरेको बताए । उपत्यकामा सेना, प्रहरी, स्वास्थ्यकर्मीलगायत समूहमा बस्नेहरूमा संक्रमण बढी देखिएको औंल्याउँदै डा। पाण्डेले उल्लेख्य रूपमा संक्रमित देखिने क्रम दुई साता अझै कम नहुने जनाए ।

‘शुक्रबार साँझसम्म उपत्यकामा कोभिड संक्रमितको संख्या ७३० पुगेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने । यसअघि स्वास्थ्य मन्त्रालयको दिउँसो ४ बजेको कोभिड अपडेटमा उपत्यकामा नयाँ संक्रमितको संख्या ६९६ पुगेको जानकारी दिइएको थियो । उपत्यकामा गत बिहीबार ६३०, बुधबार ५०३ र मंगलबार ४४० जनामा कोभिड संक्रमण देखिएको जानकारी दिँदै कोइरालाले भने, ‘केही दिनयता उपत्यकामा संक्रमितको संख्या बढ्दो छ ।’

हाल काठमाडौंलगायत सुनसरी, सर्लाही, चितवन र रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो तथ्यांकअनुसार काठमाडौं उपत्यकामा कोभिड संक्रमितको कुल संख्या १० हजार ७ सय १० पुगेको छ । काठमाडौं उपत्यकाका २० वटा अस्पतालमा १ हजार ६ सय ३९ जना कोभिड संक्रमित आइसोलेसनमा छन् भने ९४ जना आईसीयू र २२ जना भेन्टिलेटर गरी ११६ जना सघन उपचारमा छन् । मुलुकभरि सघन उपचारमा रहेकामध्ये ६० प्रतिशत उपत्यकामा छन् । देशभर सघन उपचारमा रहेकाको संख्या १९५ छ ।

मुलुकमा कोभिड–१९ संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञा मात्रै विकल्प नरहेको विज्ञले बताएका छन् । उनीहरूले संक्रमण नियन्त्रणका लागि जनचेतना अभिवृद्घि, स्वास्थ्य निकाय सुदृढीकरण, संक्रमितको छिटो पहिचान गरी आइसोलेसनसहित उपचारलगायतमा समेत जोड दिएका छन् ।

Inside Article Ads

‘लकडाउन मात्र गरेर समस्या समाधान हुँदैन, उपत्यकामा लकडाउन गरे पनि संक्रमण कम भएन,’ वरिष्ठ जनस्वास्थ्यविद् प्रा।डा। मधु दीक्षित देवकोटा भन्छिन्, ‘जनस्वास्थ्यका अन्य प्रक्रिया कडाइसाथ लागू गरेर संक्रमणको दर सकेसम्म कम गर्नुपर्छ ।’ निषेधाज्ञा तत्कालको उपाय भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। जीडी ठाकुर यो सधैंभरिका लागि नभएको बताउँछन् । एकैपटक निषेधाज्ञा लगाउनु र एकैपटक खुला गर्नु उपयुक्त नहुने उल्लेख गर्दै डा। ठाकुरले चरण–चरणमा कदम चाल्नुपर्ने बताए । उनले मुलुकको जनसंख्याको अनुपातमा दिनहुँ कम्तीमा ३० हजार पीसीआर परीक्षण हुनुपर्ने जनाए । उनले जनतालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खोप नआएसम्म कोभिडसँगै बाँच्न सिकाउनुपर्ने सुझाव दिए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले निषेधाज्ञासँगै अन्य सुधारको पाटोमा समेत काम गर्नुपर्ने बताए । ‘निषेधाज्ञाको समय हामीले कन्ट्याक्ट ट्रेसिङ द्रुत गतिमा बढायौं, जुन अलि अगाडि थिएन,’ उनले भने । हाल निषेधाज्ञाको समय अस्पताल र आइसोलेसनबीच समन्वयसँगै यो प्रक्रियालाई व्यवस्थित बनाइएको औंल्याए । उपत्यकामा तत्काल निषेधाज्ञा जारी राख्नु आवश्यक नरहेको जनाउँदै उनले भने, ‘संक्रमित र उनको सम्पर्कमा आएकाको तुरुन्त पहिचान गरी उपचार प्रक्रियामा ल्याउने र अलग्याएर राख्ने काम द्रुत गतिमा भयो भने संक्रमण नियन्त्रणउन्मुख हुन्छ ।’
-कान्तिपुर दैनिक

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.