
काठमाडौँ — २३ भाद्र २०७८
काठमाडौँ , मेक्सिकोमा मंगलबार राति शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मंगलबार राति अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले घरहरुमा क्षति पुऱ्याएको खबर आए पनि मानवीय क्षतिबारे भने जानकारी आएको छैन । अकापुल्कोको पहाडी क्षेत्र भूकम्पले हल्लाएको थियो । मेक्सिकोका राष्ट्रपति म्यानुयल लोपेज ओब्राडेरले भूकम्पका कारण चट्टान खसेर पर्खालहरू भत्काएको जानकारी दिएका छन् । उनका अनुसार भूकम्पले ठूलो क्षति भने पुर्याएको छैन ।
‘धन्न ठूलो क्षति भने भएको छैन । भूकम्पका कारण मानवीय क्षति भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने । अकापुल्को राजधानी मेक्सिको सिटीबाट करिब ३७५ किलोमिटरको दूरीमा रहेको छ । अकापुल्कोका ७० वर्षीय स्थानीय यसमिन रिज्कले आफूलाई सन् १९८५ को भूकम्पको सम्झना दिलाएको बताए । सन् १९८५ को सेप्टेम्बर १९ मा मेक्सिको सिटी आसपासलाई केन्द्रविन्दु बनाएर गएको ८.० म्याग्निच्युडको भूकम्पले करिब ५ हजारको ज्यान लिएको थियो भने करिब ३० हजार घाइते भएका थिए ।
( कान्तिपुर दैनिक )
