
दैलेख — २२ भाद्र २०७८
दैलेख , नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि भएको वडा अधिवेशनमा युवाहरूको आकर्षण देखिएको छ । अधिवेशन सम्पन्न भएका जिल्लाका ९० वडाबाट झन्डै ६० प्रतिशत युवायुवती छनोट भएको कांग्रेस दैलेखले जनाएको छ । दुल्लु–३ की १९ वर्षीया स्वस्तिका महत वडा सभापतिमा निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसका तत्कालीन उपसभापति स्वर्गीय भूपेन्द्रबहादुर महतकी छोरी हुन् । नेपालगन्ज टेक्निकल कलेजबाट एचए उत्तीर्ण महत सभापतिमा सर्वसम्मत बनेकी हुन् । घुमघामको सिलसिलामा भारत पुगेका महतको २०७६ साल कात्तिकमा भारतमै मृत्यु भएको थियो । बाबुको इच्छा पूरा गर्न आफू राजनीतिमा आएको महतले बताइन् । ‘केही गर्छु भन्ने उमेरमा बाबाको मृत्यु भयो,’ उनले भनिन्, ‘जसरी पनि उहाँको अपूरो इच्छा पूरा गर्छु ।’ उनका अनुसार यसअघि वडा सभापतिमा १४ जना आंकाक्षी थिए । सबै आकांक्षीले आफ्नो साहस र हिम्मत देखेर सभापतिको जिम्मेवारी दिएको उनले बताइन् । उनको वडामा कांग्रेसका १ सय ३३ जना क्रियाशील सदस्य छन् । उनले आफ्नो नेतृत्वमा अधिकांश युवाहरू समावेश भएको जानकारी दिइन् ।
दैलेखका सबै वडामा अधिवेशन सकिएको पार्टी जिल्ला सभापति कृष्णकुमार बिसीले बताए । ‘लामो समयपछि नेतृत्व चयनको प्रक्रिया भएकाले पनि युवाको आकर्षण देखिएको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा पनि युवाले आफ्नो सहभागिता खोजे ।’ योपल्ट महिलाको सहभागिता पनि उल्लेख्य देखिएको उनले बताए । उनका अनुसार जिल्लाभरि १ हजार ५ सय ८९ जना प्रतिनिधि छनोट भएका छन् ।
( कान्तिपुर दैनिक )
