
काठमाडौँ — २२ भाद्र २०७८
काठमाडौँ , भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ । दुवै घटनामा भारतको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय दूतावासमार्फत कूटनीतिक पत्र पठाइएको हो । यसअघि यस प्रकृतिका पत्र दिल्लीस्थित नेपाली दूतावासमार्फत वासिधै भारतीय विदेश मन्त्रालयमा पठाउने गरिए पनि योपल्ट भने भारतीय दूतावासमा बुझाइएको हो । स्रोतका अनुसार तुइन घटनामा एसएसबी जिम्मेवार रहेकोमा आपत्ति जनाउँदै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पत्रमार्फत भनिएको छ । त्यस्तै, भारतीय हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडाइएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन ध्यानाकर्षण गराइएको छ ।
‘कम्पिटेन्ट अथोरिटीबाट आएपछि गरिने/गर्ने यो नियमित र कूटनीतिक प्रक्रिया हो,’ प्रवक्ता लम्सालले कान्तिपुरसँग भनिन्, ‘यो प्रक्रियाअनुसार हामीले काम गरिसकेका छौं ।’ परराष्ट्रले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको सुझावअनुसार नै घटनामा संलग्न भारतीय एसएसबीका सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति भराउन पत्रमार्फत भारतलाई भनेको हो । तुइन घटनाबारे अनुसन्धान गर्न दार्चुला प्रशासनले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई पत्र पठाएको थियो । तर, भारतीय प्रशासनले घटनाको अनुसन्धान नै नगरी अपराध ढाकछोप हुने गरी आफ्नो पक्षको संलग्नता नरहेको दाबी गरेको थियो ।
( कान्तिपुर दैनिक )
