
गोरखा — २२ भाद्र २०७८
गोरखा , कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्पप्रायः रहेको मनास्लु क्षेत्रमा पाँच महिनापछि चहलपहल बढ्न थालेको छ । यति बेला मनास्लु हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहण गर्न आएका पर्वतारोही सामागाउँ क्षेत्रमा खचाखच रहेको चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर लामाले बताए । ‘केही ग्रुप बेसक्याम्पतर्फ उक्लिसके, कोही आउने क्रम जारी छ,’ लामाले भने । पर्यटकले सामागाउँ क्षेत्रका होटल भरिएसँगै व्यवसायी उत्साहित बनेको उनको भनाइ छ । ‘कोरोनाको दुई वर्षमा फाट्टफुट्ट मात्र पर्यटक भए, अहिले हिमाल चढ्ने पर्यटक आएपछि चहलपहल बढेको छ,’ उनले भने । धेरैजसो विदेशी पर्यटक हेलिकोप्टरमार्फत सामागाउँ उत्रिएका छन् ।
शेर्पा, गाइड, कुक, भरिया तथा सहयोगी भने मनाङ हुँदै लार्केपास गरेर र आरुघाट हुँदै पनि सामागाउँ आइपुगेका हुन् । गत अगस्ट ३१ यता १० समूहका १ सय ८ आरोहीले मनास्लु आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । ती मध्ये ८० पुरुष र १८ महिला छन् । ‘यो मनास्लु आरोहण गर्ने सिजन हो,’ पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जीसीले भने, ‘केहीले अनुमति लिइसके, केही समूह लिने प्रक्रियामा छन् ।’ रसिया, अमेरिका, जर्मनीलगायत देशका नागरिकले मनास्लु आरोहणको अनुमति लिएको विभागले जनाएको छ । अक्टोबर, नोभेम्बर, सेक्टेम्बर, अप्रिल र मे महिना मनास्लु भ्रमणका लागि उपयुक्त मानिन्छन् । सन् १९५६ को जुलाई ९ मा जापानी नागरिक टोसी इमानोसीले पहिलोपल्ट मनास्लु आरोहण गरेपछि यो विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ । विशेषगरी अक्टोबर सिजनमा मनास्लु आरोहण गर्ने आरोहीको संख्या बढी हुने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
लामो समयपछि मनास्लु क्षेत्रमा पर्यटक पुगेपछि आशा पलाएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख अजित तुम्बाहाम्फेको भनाइ छ । गत जेठयता मनास्लु क्षेत्रमा एक जना पनि विदेशी पर्यटक नपुगेको एमक्यापको तथ्यांक छ । ‘अप्रिलयता मनास्लु पुग्ने पर्यटकको संख्या शून्य थियो, ५ महिनापछि बल्ल विदेशी आएका हुन्,’ तुम्बाहाम्फेले भने, ‘अब केही आशा पलायो, अब पहिले जस्तै पर्यटक आउने अपेक्षा छ ।’ गत जनवरीमा २३, मार्चमा ४९ र अप्रिलमा ९८ विदेशी मनास्लु क्षेत्र पुगेका थिए । ‘केही दिनअघि ट्रेकिङका लागि एउटा समूह बाटो हेर्न गएका छन्, अब ट्रेकिङ रुटबाट पनि पर्यटक आए मनास्लु क्षेत्र चलायमान बन्थ्यो,’ तुम्बाहाम्फेले भने, ‘पर्यटक नआउँदा होटल व्यवसायी समस्यामा छन्, ऋण गरेर चलाएको होटल बन्द भएपछि व्यवसाय धरापमा छ ।’ मनास्लु क्षेत्रमा झन्डै एक सय होटल पर्यटकको भरमा खुलेका छन् । ट्रेकिङ मार्ग भएर भने अझै पर्यटक नआउँदा मनास्लु क्षेत्र चलायमान बन्न सकेको छैन । बर्खाले बिगारेको बाटो मर्मत गरी ट्रेकिङ रुटबाट पर्यटक आवागमनलाई सहज बनाउनुपर्ने मनास्लु होटल व्यवस्थापन उपसमितिका अध्यक्ष गणेश कार्कीले बताए । ‘होटल खुलेका छन्, पर्यटक छैनन्,’ उनले भने, ‘हिमाली समूह पनि हेलिकप्टरबाट सामागाउँ झरेका छन्, बाटोलाई प्राथमिकता दिएर ट्रेकिङ रुट प्रयोग भए होटल व्यवसायीलाई राहत हुन्थ्यो ।’
( कान्तिपुर दैनिक )
