Fast Nepal News

पारा ओलम्पिकमा पलेशाको कीर्तिमान

banner single news

काठमाडौँ — २१ भाद्र २०७८

काठमाडौँ , नेपाली खेलाडीका लागि ओलम्पिक सहभागिता मात्र जस्तै हुँदै आएको थियो । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले भने त्यो परम्परा तोड्दै इतिहास रचिन्– दुई खेल जितेर । यदि अन्तिम खेलमा झिनो अन्तरको हार हुन्थेन भने उनको पोल्टामा पदकसमेत हुने थियो । कांस्यका लागि चिनियाँ खेलाडी युजी लीसँग भएको खेलको तेस्रो राउन्डमा १२–९ को झिनो अंकअन्तरमा पराजित भइन् । टोकियो पारा ओलम्पिककी एक्ली नेपाली प्रतिस्पर्धी पलेशा पदकनजिक पुगेर पनि जित्न नसकेकामा आइतबार काठमाडौं फर्किएपछि सबैसामु माफी माग्दै थिइन् । ‘मैले गो फर गोल्ड भनेकी थिएँ तर पदक ल्याउन सकिनँ, त्यसका लागि माफी चाहन्छु । शतप्रतिशत प्रयास गरेकी थिएँ, कांस्यनजिक रहेर जित्न नसके पनि इतिहास कायम भयो,’ विमानस्थलमा उनले भनिन्, ‘योभन्दा राम्रो गर्न सक्थें भन्ने आशा थियो । अर्कोपल्ट पदक ल्याउने गरी प्रदर्शन गर्नेछु ।’ कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा छनोट प्रतियोगिता खेल्न नपाएपछि वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागी भएकी पलेशाले टोकियो प्रस्थान गर्नुअघि स्वर्णको लक्ष्य राखेकी थिइन् । आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभवका आधारमा उनी आत्मविश्वासी थिइन् । जन्मजात बायाँ हातको नाडीबाट तलको भाग नरहेकी काठमाडौंकी पलेशाले डीएभी स्कुलमा ५ कक्षा पढ्दादेखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन् । देशभरका पाराका लागि प्रेरणादायी बन्ने लक्ष्य लिएकी उनले सन् २०१६ देखि टोकियो ओलम्पिकसम्म ७ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् ।

सन् २०१९ मा भियतनाममा भएको पाँचौं एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेकी थिइन् । हारका बाबजुद पलेशा सकारात्मक देखिइन् । ‘पदकको नजिक भएर पनि ल्याउन नसक्दाको दुःखभन्दा पनि मैले त्यहाँ गएर धेरै कुरा सिकेको छु, पदक जित्न सकिन्छ भन्ने आत्मविश्वास कमाएकी छु,’ पारा तेक्वान्दोको के४४ विधातर्फ ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी पलेशाले भनिन्, ‘पहिलो खेलमै हारेपछि निराश हुनुभन्दा पनि आशावादी भएँ । कांस्यका लागि अझै पनि अवसर छ भन्ने लागेको थियो । मलाई डर लाग्न छाडेको थियो ।’ पाराहरूले पनि ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्न सक्छन् भन्ने प्रमाणित गर्ने अभियानमा रहेकी पलेशा यसलाई सुरुआत मान्छिन् । नेपाली ओलम्पिक अभियानको ६ दशक अवधिमा सामान्य खेलाडीले पाउन नसकेको सफलता उनले पाएकी छन् । अझै राम्रो प्रदर्शनका लागि प्रयासरत छिन् । ‘मेरो प्रदर्शनले ओलम्पिकमा पाराबाट पनि मुलुकले पदक पाउन सक्ने सम्भावना नजिकिएको छ,’ उनले थपिन्, ‘यो सुरुआत हो । हारले मलाई धेरै सिकाएको छ । अझै निरन्तरता दिनुपर्छ भन्ने बुझाएको छ ।’

आफ्नो तौल समूहको पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग पलेशाले ठूलो अंकअन्तरको हार व्यहोरेकी थिइन् । त्यसपछि रिपिचेजअन्तर्गत कांस्य पदकका लागि भएको खेलमा अमेरिका र सर्वियामाथि सहज जित हासिल गरिन्, तर चिनियाँ खेलाडीसँग चुकिन् । ओलम्पिकमा चार खेल खेलेर दुई जित हासिल गरेकी उनलाई आफ्नो तयारी र अनुभव अपर्याप्त लागेको छ । ‘हाम्रो तयारी समय धेरै थोरै थियो । लकडाउनका कारणले डिस्टर्ब भइरहेको थियो । थोरै तयारीमा पनि नेपाल तेक्वान्दो संघबाट सकेसम्म सहयोग भएको थियो,’ उनले भनिन्, ‘सबैको सहयोगले यहाँसम्म पुगेको हो । सरकारले सामान्य खेलाडीलाई जत्तिकै सहयोग हामीलाई पनि गर्नुपर्छ । सुविधा अझै धेरै दिनुपर्छ । अनि, मजस्तै खेलाडीहरू पनि अगाडि आउनुपर्छ । आफ्नो कमजोरीलाई तागत बनाउनुपर्छ ।’

Inside Article Ads

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पनि शतप्रतिशत प्रयास गर्दागर्दै पदक जित्न नसकेको बताए । ‘खेल जितेर इतिहास कायम गर्नेभन्दा पनि पदक नै जित्ने हाम्रो लक्ष्य थियो, ओलम्पिक इतिहासकै पहिलो पदक ल्याउने भन्ने थियो । अन्तिम समयमा पलेशा चुक्न पुगे पनि मलाई उनको प्रदर्शनप्रति गर्व छ,’ उनले भने । नेपाली टोलीमा समावेश भएर जापान पुगेका कीर्तिमानी तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक विष्टले पलेशामा ओलम्पिक पदक ल्याउने पर्याप्त क्षमता हुँदाहुँदै पनि दुर्भाग्यवश वञ्चित हुनुपरेको बताए । ‘मैले १९ वर्षको उमेरमा तेक्वान्दो खेल्न सुरु गरेको थिएँ । उनी १८ वर्षको कलिलै उमेरमा ओलम्पिकको अनुभव लिइसकेकी छन्,’ उनले भने, ‘सन् २०१६ मा पहिलोपल्ट देख्दा नै मैले पलेशाबाट धेरै आशा गरेको थिएँ । एउटा ओलम्पिकमा उनी पदकबाट चुकेकी छन् । अर्कोपल्ट अझै धेरै अनुभव, परिपक्वता र तयारीले पदक निश्चित हुनेछ भन्ने विश्वास छ ।’

( कान्तिपुर दैनिक )

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.