२५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १ असोजबाट आन्तरिक उडान खोल्ने प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार चारवटा महत्वपूर्ण प्रस्तावमा पेेष गरिएकाे उनले जानकारी दिए । प्रस्तावअनुसार आन्तरिक उडान खोल्नेदेखि नेपाली आयोजनामा काम गर्ने विदेशी कामदारलाई नेपाल ल्याउनेसम्म रहेका छन् ।
‘आज हामीले १५ असोजबाट आन्तरिक उडान खुलाउने प्रस्ताव गरेका छौं,’ उनले भने, ‘सम्भवतः त्यसदिनबाट खुल्छ ‘
मन्त्रालयले आज सीसीएमसीमा पठाएको प्रस्ताव अनुसार अब विदेशमा रोकिएका नेपाली आयोजनामा काम गर्ने कामदारलाई समेत नेपाल आउन अनुमति दिने प्रस्ताव माग गरिएको छ ।
मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गरिने भएको छ ।
‘प्राथमिकतामा हिमाली र पहाडी इलाकामा रहेका एयरर्पोर्टबाट आन्तरिक उडान शुरु हुन्छ,’ उनले भने । मन्त्री भट्टराईका अनसुसार दशैं र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो ।
‘विदेशी कामदार रोकिएकै कारण भैरहवा विमानस्थलको काम रोकिएको छ,’ उनले भने, ‘अब हामी उनीहरुलाई नेपाल ल्याउने तयारीमा छौं ।’
मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।
उनका अनुसार नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ ।
मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पुरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव लगेको छ ।
‘पर्यटन क्षेत्रले ६ महिनाभन्दा लामो समय धैर्य गरेको छ, उनले भने, ‘अब क्रमशः स्वास्थ्यका नियम पालना गरी हामी पर्यटन गतिविधि अगाडी बढाउने योजनामा रहेकाे उनले वताए ।’