
मोरङ — २१ भाद्र २०७८
मोरङ , अल्पमतमा परेको प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले आइतबार प्रदेशको व्ययभार बढाउने प्रकृतिको निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोग, योजना आयोगमा अस्थायी दरबन्दी सिर्जना गर्ने र प्रादेशिक सञ्चार प्रतिष्ठानका लागि स्थायी दरबन्दी सिर्जना गरी पदपूर्ति गर्ने निर्णय गरेको छ । बैठकले मानव अधिकारसम्बन्धी काम गर्न प्रदेश सरकारले फोकल पर्सन तोक्ने निर्णयसमेत गरेको मुख्यमन्त्री आचार्यको सचिवालयले जनाएको छ । बैठकले मनसुनजन्य विपद् प्रभावितलाई निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना गर्न बनेको कार्यविधि स्वीकृत गरी प्रमुख सचिव रामप्रसाद घिमिरेलाई कार्यान्वयनका लागि जिम्मेवारी दिने निर्णय गरेको हो । मनसुनजन्य विपद् पीडित परिवारलाई प्रदेश सरकारले हिमाली जिल्लामा प्रतिपरिवार ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराई क्षेत्रमा ३ लाख रुपैयाँ उपलब्ध गराउने कार्यविधिमा व्यवस्था गरेको छ । मनसुनजन्य विपद् पीडित परिवारलाई संघीय सरकारले ५०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्ध गराउने संघीय सरकारको निर्णय कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश १ मा एमाले छाडेर १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोज्न निर्वाचन आयोगको कार्यालय प्रदेश १ मा सनाखत गरेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । ९२ सदस्यीय प्रदेशसभामा ५१ सदस्यसहित एकल बहुमत रहेको एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादी रोजेपछि ४१ मा खुम्चिएको छ । एकीकृत समाजवादी रोजेको निर्वाचन कार्यालयले प्रमाणपत्र दिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन सरकार बनाउने घोषणा भइसकेको छ ।गठबन्धनले अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई दूरगामी महत्त्वको कुनै पनि निर्णय नगर्न, नगराउन ध्यानाकर्षण गराइसकेको छ । गठबन्धनले अल्पमतको सरकारले दूरगामी महत्त्वको र प्रदेश तथा प्रदेशवासीलाई प्रतिकूल हुने कुनै पनि निर्णय अब बन्ने गठबन्धनको सरकारले अपनत्व नलिने चेतावनी दिइसकेको छ ।
( कान्तिपुर दैनिक )
