
मोरङ — १८ भाद्र २०७८
मोरङ, प्रदेश १ मा एमालेको सरकार अल्पमत परेपछि विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणका लागि कसरत थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले बिहीबार गरेर प्रदेशसभामा गठबन्धनलाई सशक्त बनाएर अघि बढ्ने निर्णय गरेका छन् । यहाँ मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दल नेता राजीव कोइराला र एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई आकांक्षी देखिएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले एकीकृत समाजवादीका प्रदेश सांसदहरूले दल रोजेको प्रमाणपत्र प्राप्त गरेर संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठन प्रक्रिया सुरु गर्ने बताए । प्रदेश १ मा एमालेका १० सांसदले बुधबार नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राईले प्रदेश सरकारको नेतृत्व आफूलाई दिने प्रारम्भिक सहमति गठबन्धन दलका नेताहरूबीच भएको बताएका छन् । ‘गठबन्धनमा रहेका दलका बीचमा सरकारको नेतृत्व मलाई नै दिने एकखाले प्रारम्भिक सहमति भएको हो तर यो विषयमा पुनः बसेर छलफल गरी सहमतिमै टुंग्याउँछौं,’ उनले भने, ‘एकीकृत समाजवादीका सांसद अत्यन्तै कठिन परिस्थितिमा ठूलो जोखिम मोलेर आएकाले गठबन्धन दलले प्रदेश सरकारको नेतृत्व दिनेमा विश्वस्त छु ।’
९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१ प्रदेश सांसदमध्ये ४ जना एकीकृत समाजवादीमा केन्द्रीय सदस्य भइसकेको, किर्ते कागज मुद्दामा अदालतले दोषी ठहर गरेपछि गुलेफुन खातुन फरार रहेको र एक जना सभामुख रहेको अवस्थामा मुख्यमन्त्री नियुक्त गरी शपथग्रहण गराउनु असंवैधानिक भएको गठबन्धनको भनाइ छ । कांग्रेस नेता कोइराला, माओवादीका नेता आङ्बो, जसपाका नेता जयराम यादव र एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राईले बैठकपछि जारी गरेको संयुक्त विज्ञप्तिमा आचार्यलाई मुख्यमन्त्रीमा गरेको नियुक्ति खारेज गर्न माग गरिएको छ । असंवैधानिक रूपमा गठन भएको र अल्पमतमा परिसकेको मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई दूरगामी महत्त्वको निर्णय नगर्न नगराउन विज्ञप्तिमार्फत आग्रह गरेको छ । आङ्बोले अल्पमतमा परिसकेका मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले दूरगामी महत्त्वको निर्णय गरे अब बन्ने गठबन्धनको सरकारले अपनत्व नलिने बताए । एमालेका केन्द्रीय सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कांग्रेस नेता कोइराला र माओवादी नेता आङ्बोलाई आफ्नो पार्टीको सरकारलाई सघाउन वा सरकारको नेतृत्व गर्न आग्रह गरेकाले गठबन्धनको बैठक बसेको थियो । बैठकमा गठबन्धन टुटाउने गरी कुनै दलबाट गतिविधि नगर्ने समझदारी बनेको छ ।
( कान्तिपुर दैनिक )
