Fast Nepal News

काँक्राको बीउ बेचेर तीन करोड

banner single news

पर्वत — १६ भाद्र २०७८

पर्वत , कोरोनाका कारण व्यवसायका सबैजसो क्षेत्र ठप्पप्रायः बनेका बेला पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ सल्यान गाउँका किसानले भने कोरोनाकालको सदुपयोग गरेका छन् । निषेधाज्ञामा उनीहरूले काँक्राको बीउ उत्पादन गरेर तीन करोड रुपैयाँ गाउँ भित्र्याएका छन् । गाउँका ८० किसानले काँक्राको बीउ उत्पादन गरी यो वर्ष उक्त रुपैयाँ बराबर आम्दानी गरेका हुन् । डेढ दशकदेखि निरन्तर भक्तपुर लोकल जातको काँक्राको बीउ उब्जाइरहेका किसानले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा उत्पादन गरेको बताएका छन् । अहिले किसानले बीउ उत्पादनमै जोड दिएको अगुवा किसान एवं सल्यान कृषि उत्पादन समूहका अध्यक्ष एकनारायण पौडेलले जानकारी दिए । ‘लकडाउन भएकाले बाहिर रोजगारीमा भएका युवा पनि गाउँ फर्किए,’ उनले भने, ‘गाउँभरि काँक्रो खेती भएपछि सबैले बीउमै जोड दिए । अहिलेसम्मकै धेरै बीउ उत्पादन भयो ।’ यहाँ उत्पादित बीउ धेरैजसो काठमाडौंस्थित ग्रेस्को तथा कालीमाटीका विभिन्न व्यवसायीले लैजाने गरेका छन् । व्यवसायीले सिजनअघि नै बीउ अर्डर गर्ने अर्का किसान नरबहादुर केसीले बताए ।

विगतमा पनि किसानले काँक्रा, गोलभेंडा, घिरौंला, करेलालगायत बीउ उत्पादन नगरेका होइनन् । तर अरूभन्दा सजिलो हुने भएकाले अहिले काँक्राकै बीउ उत्पादन गरेको किसान हरि आचार्यले बताए । यस वर्ष एउटा किसानले १ देखि १० लाख रुपैयाँसम्मको बीउ बेचेका छन् । सुकाएर तयार पारेको बीउ प्रतिकिलो ४ देखि ५ हजार रुपैयाँमा बिक्री हुन्छ । समथर फाँट र उत्तरपूर्वी मोहडामा फैलिएको सल्यान गाउँमा सिँचाइ सुविधा छ । किसानले बीउ मात्रै नभएर हरियो बेमौसमी तरकारीबाट समेत बर्सेनि करोडौं रुपैयाँ आम्दानी लिने गरेका छन् । यहाँको तरकारी धौलागिरिका बेनी, बागलुङ, कुश्मा र मुस्ताङका अलावा पोखरासम्म पनि पुग्छ । दशकअघिसम्म परम्परागत शैलीमा तरकारी उत्पादन गर्दर् ैआएका किसानले प्लास्टिकको हाइटेक टनेल, मिनी टिलरलगायत आधुनिक प्रविधिसमेत अपनाउन थालेका छन् ।

‘हिउँदमा यहाँ जुन खेती पनि फाल्दिए फल्छ,’ अध्यक्ष पौडेलले भने, ‘बर्खाको भलबाढीमा फलाउन पानीबाट जोगाउनुपर्छ । त्यसकै लागि टनेल हाल्नुपर्ने हो ।’

Inside Article Ads

किसानले अहिलेसम्म काँक्रा, गोलभेंडा, करेलालगायतको बीउ भने परम्परागत शैलीमै उत्पादन गर्दै आएका छन् । बीउ निकाल्ने, सुकाउने र ग्रेडिङ गर्नेलगायतमा आधुनिक उपकरण भए अझै धेरै उत्पादन गर्न सकिने किसानले बताएका छन् । ‘तर यहाँ त्यस्तो प्रकारको कुनै उपकरण छैन । हातैले सबै काम गर्ने हो,’ किसान तीर्थबहादुर केसीले भने । उपकरण भए बीउ सुकाउन र ग्रेडिङ गर्न अझै सहज हुने र बीउको गुणस्तरसमेत बढ्ने किसानको अपेक्षा छ ।कुनै वर्ष बीउ बिक्रीमा समस्या हुने भएकाले बर्सेनि उब्जाएको बीउको बजारीकरणमा राज्यले सहयोग र सहजीकरण गरिदिने उनीहरूको माग छ । व्यावसायिक तरकारी र बीउ उत्पादन गर्ने किसानलाई गाउँपालिकाले मल, बीउ, साना औजारलगायतमा सहयोग गर्दै आएको वडाध्यक्ष टुंगनाथ आचार्यले बताए । ‘पालिकास्तरबाट हुने सहयोगमा कुनै कमी छैन,’ उनले भने, ‘सानोतिनो सहयोगले ठूल्ठूला उपकरण खरिद गर्न सकिन्न । यहाँ चाहिएको बीउ प्रशोधन मेसिन हो ।’

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.