Fast Nepal News

खुल्न थाले विद्यालय

banner single news

काठमाडौँ — १६ भाद्र २०७८

काठमाडौँ, कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालय महामारी नसकिँदै खुल्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका स्थानीय तहले शिक्षक र अभिभावकसँग सल्लाह गरेर भौतिक कक्षा सुरु गरेका हुन् । विद्यालय खुलाइए पनि स्वास्थ्य मापदण्डलाई पालना गरिएको उनीहरूको भनाइ छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मंगलबार विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन थाले पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाउन निर्देशन दिएको छ । तर नगर प्रमुख सन्तोष चालिसेले विद्यालय सञ्चालनलाई निरन्तरता दिने बताए । ‘हामीले अभिभावक र शिक्षकसँग सल्लाह गरेर विद्यालय खोल्ने निर्णय गरेका हौं । जिल्ला प्रशासन कार्यालयले भन्दैमा बन्द गर्न सकिँदैन । कि विकल्प दिनुपर्‍यो,’ उनले भने, ‘विद्यार्थीलाई सधैं थुनेर राख्न सकिँदैन ।’ गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय प्रमुख रामप्रसाद आचार्यले संक्रमण दर अत्यन्तै न्यून रहेकाले विद्यालय सञ्चालन गर्ने नगरस्तरीय भएको जानकारी दिए । भौतिक दूरी कायम गर्ने/गराउनेलगायतका सुरक्षा मापदण्ड अपनाउने काम विद्यालयले नै गर्नुपर्ने नगरपालिकाको भनाइ छ । मापदण्ड पालना नगर्ने विद्यालयलाई कारबाही गर्ने नगरपालिकाले जनाएको छ । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराउन रोक लगाएका छन् । तर कतिपय स्थानीय तहमा विद्यालयले आफूखुसी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दै आएका छन् ।

वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका कक्षा भौतिक उपस्थितिमा सञ्चालन गराउँदै आएकामा आगामी सातादेखि कक्षा १ देखि नै भौतिक रूपमा पठनपाठन गराउने भएको छ । ‘संक्रमणको जोखिम नदेखेपछि महानगरपालिकाले स्कुल खोल्ने निर्णय लिएको हो,’ मेयर विजयकुमार सराबगीले भने । शिक्षा मन्त्रालयले गत वर्ष नै जारी गरेको विद्यालय पुनः सञ्चालन कार्यढाँचाअनुसार कक्षा सञ्चालन गरिएको महानगरले जनाएको छ । गत वर्ष सोही ढाँचाअनुसार स्थानीय तहले विद्यालय सञ्चालन गर्दा जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका थिए । वीरगन्ज महानगरपालिकाले विद्यालय खोल्ने र बन्द गर्ने निर्णय लिएर जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिने गरेको छ । ‘विद्यालय सञ्चालन गर्ने जिम्मेवारी पालिकाको हो, त्यहीअनुसार अवस्थाको विश्लेषण गरेर खोल्ने र निर्णय गर्ने गरेका छौं,’ मेयर सराबगीले भने । अनलाइन कक्षा प्रभावकारी हुन नसकेकाले स्वास्थ्य मापदण्ड ख्याल गरेर विद्यालय खोल्नुको विकल्प नभएको उनले बताए ।

तनहुँस्थित भानु नगरपालिकामा पनि मंगलबारदेखि विद्यालय खुलेका छन् । नगर शिक्षा समितिले विद्यार्थी संख्या धेरै भएका विद्यालयमा दुई सिफ्टसहित भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रशासकीय प्रमुख भीमप्रसाद तिवारीले जानकारी दिए । ‘लामो समय विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा ठूलो क्षति पुगेको निष्कर्ष निकाल्यौं, अहिले संक्रमणको पनि खासै जोखिम देखिएको छैन,’ उनले भने ।स्थानीय तहले धमाधम स्कुल सञ्चालनको निर्णय गर्न थालेपछि शिक्षा मन्त्रालयले पनि जोखिमको अवस्था हेरेर विद्यालय खोल्नुपर्ने निष्कर्षमा पुगेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पनि विद्यालय सञ्चालनका विषयमा कार्ययोजना माग गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनका अनुसार सरकारले गर्ने लकडाउनको चार प्रकृतिअनुसार पठनपाठनका गतिविधि अघि बढाउन सकिने गरी मन्त्रालयले कार्ययोजना तयार पारेर सीसीएमसीमा पेस गरेको छ । हार्ड (रातो), मिक्स्ड (गाढा पहेंलो), सफ्ट (हल्का पहेंलो) र मिनिमल (हरियो) कुन क्षेत्रमा कसरी शैक्षिक गतिविधि सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको हो ।
Inside Article Ads

जसअनुसार रातो क्षेत्रमा प्रधानाध्यापकसहित केही शिक्षक आलोपालो विद्यालय आउने र विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउने प्रस्ताव गरिएको छ । गाढा पहेंलो क्षेत्रमा ५० प्रतिशत शिक्षक विद्यालयमा उपस्थिति भएर विद्यार्थीलाई समूहअनुसार सिकाइ सहजीकरण गर्ने तयारी छ । हल्का पहेंलो क्षेत्रमा शिक्षक विद्यालयमा उपस्थित भई विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने उल्लेख छ । विद्यार्थीलाई पनि स–साना समूह बनाएर मात्रै सिकाइ सहजीकरण गर्नुपर्ने योजना बनाइएको छ । हरियो क्षेत्रमा विद्यालय पुनः सञ्चालन कार्यढाँचाअनुसार भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्न सकिने कार्ययोजनामा उल्लेख छ । संक्रमणको जोखिम नरहेको वा कम रहेको स्थानमा आलोपालो सिफ्ट वा अन्य विधि प्रयोग गर्न सकिनेछ ।

प्रवक्ता शर्माले वैकल्पिक माध्यमलगायत आलोपालो कक्षा सञ्चालन गर्न मन्त्रालयले समेत विद्यालयहरूलाई प्रोत्साहन गर्ने गरेको बताए । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालय सञ्चालन गर्न सक्ने उनको भनाइ छ । मन्त्रालयले विद्यालय पुनः सञ्चालन गर्दा कार्यविधिको परिपालना गर्न आग्रहसमेत गरेको छ । कोभिडको दोस्रो लहर बढ्दै जाँदा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द गरिएका थिए । यो अवधिमा अनलाइन, टेलिफोन, घरदैलोलगायत वैकल्पिक माध्यमबाट पठनपाठन गरिएको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपाल टेलिभिजन र रेडियो नेपालबाट १० कक्षासम्मको पाठ प्रसारण गरेको छ । केन्द्रले निजी टेलिभिजन च्यानलबाट पनि श्रव्यदृश्य पाठ प्रसारण गर्न आवेदन मागेको छ ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.