Fast Nepal News

अफगानिस्तानबाट २० वर्षे युद्ध टुंग्याउँदै फर्कियो अमेरिका

banner single news

काठमाडौँ — १५ भाद्र २०७८

काठमाडौँ , अमेरिकाले अफगानिस्तानमा आफ्नो २० वर्षदेखिको सैन्य उपस्थिति औपचारिक रूपमै टुंग्याएको छ । अफगानिस्तानबाट सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा फर्किएसँगै दुई दशक लामो युद्ध अन्त्य भएको हो ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डका कमान्डर जनरल फ्र्यांक म्याककेन्जीले सोमबार अमेरिकी सेनाको अन्तिम डफ्फा काबुलबाट फर्किएको जानकारी दिए । उनले पत्रकारहरूसँगको कुराकानीमा भने, ‘म यहाँ अफगानिस्तानबाट हाम्रो घरफिर्ती अभियान र अफगानिस्तानबाट अमेरिकीसहित तेस्रो मुलुक र जोखिममा रहेका अफगानी नागरिकको सैन्य उद्धार सकिएको घोषणा गर्न उपस्थित भएको हुँ ।’उनका अनुसार अमेरिकी सेनाको अन्तिम जहाज सी–१७ काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार दिउँसो ३ बजेर २९ मिनेट जाँदा उडेको थियो । उनले अगाडि भने, ‘यो उडानसँगै धेरै पीडादायी क्षण पनि छन् । हामीले चाहेका सबैलाई ल्याउन सकेनौं ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार नै एउटा वक्तव्य जारी गर्दै अमेरिकी सेनालाई धन्यवाद दिएका छन् । तोकिएको समयभित्र सबै फर्किन सफल भएको उनले जनाएका छन् । ‘गत १७ दिनमा हाम्रो सेनाले अमेरिकी इतिहासकै ठूलो हवाई उद्धार गरेको छ । अमेरिकी नागरिक, हाम्रा सहयोगी मुलुकका नागरिक र अफगानी नागरिक गरी १ लाख २० हजारभन्दा बढीको उद्धार भएको छ । उनीहरूले यो कार्य बेजोड साहस, व्यावसायिकता र संकल्पका साथ गरेका हुन्,’ राष्ट्रपति बाइडेनद्वारा जारी वक्तव्यमा भनिएको छ । उनले अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थिति सकिएको पनि बताए । ‘अब अफगानिस्तानमा २० वर्षदेखिको हाम्रो सैन्य उपस्थिति सकिएको छ,’ उनले भने ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले सोमबार अमेरिकाले अफगानिस्तानबाट १ लाख २२ हजारभन्दा बढीको उद्धार गरिएको जानकारी दिएका थिए ।

अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक

अफगानिस्तानबाट फर्कने अन्तिम अमेरिकी सैनिक मेजर जनरल क्रिस डोनाहुवे हुन् । उनी ८२औं एअरबर्न डिभिजनका कमान्डर हुन् । उनीसँगै काबुलस्थित अमेरिकी दूतावासका चार्ज डी अफेयर्स रोस विल्सन पनि स्वदेश फर्किएका छन् ।यससँगै काबुलमा अमेरिकी कूटनीतिज्ञको उपस्थिति शून्य हुन पुगेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार काबुलस्थित अमेरिकी दूतावास तत्कालका लागि सञ्चालनमा आउनेछैन । तर पनि अफगानिस्तानमा रहने अमेरिकी नागरिकप्रति भने सरकार उत्तरदायी र जिम्मेवार रहने मन्त्रालयले जनाएको छ ।

Inside Article Ads

एक युद्ध, चार राष्ट्रपति

अफगानिस्तानमा २० वर्ष लामो सैन्य उपस्थितिका बीच अमेरिकामा चार राष्ट्रपतिले शासन गरेका थिए । सन् २००१ को सेप्टेम्बर ११ को आक्रमणपछि अफगानिस्तानमा अमेरिकी सेना पठाउने राष्ट्रपति हुन्, जर्ज डब्लू बुस । त्यसपछि जारी द्वन्द्वका बीच दुई कार्यकाल बाराक ओबामा अमेरिकाका राष्ट्रपति भए । त्यसपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग सम्झौता गर्ने र अमेरिकी सेनालाई घर फर्काउने वाचा गरेका थिए । तर अमेरिकी सेना फर्काउने जिम्मेवारी भने वर्तमान राष्ट्रपति जो बाइडेनको काँधमा आइपुग्यो ।अफगानिस्तानमा अमेरिकाले झन्डै २ ट्रिलियन अमेरिकी डलर खर्च गरेको छ । त्यस्तै २० वर्षको अवधिमा करिब २ हजार अमेरिकी सेनाले ज्यान गुमाएका छन् । यही अवधिमा युद्धकै कारण ज्यान गुमाउने अफगानीको संख्या १ लाख ७० हजारभन्दा बढी छ । अमेरिकाले अफगानिस्तानमा ठूलो धनराशि र मानवीय क्षतिका बाबजुद शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.