
काठमाडौँ — १४ भाद्र २०७८
नुवाकोटस्थित ककनी गाउँपालिका–१ बाट संकलन गरिएको पानी र दिसाको नमुनामा हैजाका जीवाणु नभेटिएको रिपोर्ट आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भदौ १३ गते दिएको रिपोर्टमा यस्तो देखिएको काटमाडौं महानगरले जनाएको हो । भदौ ६ गते वडा नम्बर–१ की ७० वर्षीया पुतली बलामीको मृत्यु भएको थियो । चिकित्सकले हैजाकै कारण मृत्यु भएको पुष्टि गरेको भन्दै स्थानीयले भदौ १० बाट ल्यान्डफिल साइटमा फोहोर लैजान अवरोध गर्दै आएका थिए । वडाध्यक्ष चन्द्रबहादुर बलामी श्रेष्ठका अनुसार अझै पनि मृतकका परिवारले क्षतिपूर्ति नपाएसम्म फोहोर लैजान नदिने भन्दै स्थानीय आन्दोलित छन् ।
‘मरिसकेको मान्छे फिर्ता आयो भने फोहोर लैजान दिने हो, नत्र दिँदैनौं,’ उनले भने । आइतरबार साँझदेखि अहिलेसम्म १० भन्दा बढी गाडीमा प्रदर्शनकारीले तोडफोड गरिसकेको उनले जानकारी दिए ।वडामा हैजाको कुरा चलेपछि महानगरले त्यस क्षेत्रबाट भदौ १० गते ५ जना व्यक्तिको दिसा र ४ परिवारले पिउने पानीको नमुना संकलन गरेर भदौ ११ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । ३ वर्षीया बालिका, २७, ३८ र ५८ वर्षका ४ जना महिला र ६९ वर्षीय १ पुरुषको नमुना संकलन गरिएको थियो ।भदौ १३ गते प्राप्त भएको रिपोर्टअनुसार पानी र दिसा दुवै नमुनामा हैजा (कोलेरा) नेगेटिभ देखिएको ल्यान्डफिल साइटका इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जनाए ।
( कान्तिपुर दैनिक )
