
काठमाडौँ — १४ भाद्र २०७८
काठमाडौँ, एमालेले १० बुँदे सहमतिलाई रचनात्मक रुपमा कार्यान्वयन गर्ने जनाएको छ । एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा १० बुँदे सहमति कार्यान्वयनका लागि नेताहरुको जिम्मेवारी तोकिएको छ ।‘बैठकले १० बुँदे प्रस्तावलाई रचनात्मक ढंगले कार्यान्वयन गर्दै पार्टी एकतालाई सुदृढ गर्ने संकल्प गरेको छ’ अपानीमा भनिएको छ, ‘पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका स्थानीय पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई पार्टीको एकता र जीवन्ततालाई ध्यान दिँदै एकीकरणको महान कार्य र भावनामा चोट नपर्ने गरी एकीकरणपूर्वको स्थिति अर्थात जेठ २ गतेको अवस्थामा फर्किएको यथार्थलाई समेत ध्यानमा राखी कार्य गर्न निर्देशित गर्ने ।’
त्यसैगरी प्रदेशहरुमा १० बुँदे सहमतिमा कार्यान्वयन गर्ने विषयलाई सहजीकरण गर्नका लागि विभिन्न नेताहरुलाई तोकिएको छ । प्रदेश नम्बर १ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंकआङ्बोहाङ, प्रदेश प्रदेश नं. २मा सत्यनारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल, ज्वालाकुमारी साह, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी, आनन्द पोखरेल, गण्डकी प्रदेशमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा, लीलबहादुर थापा, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोख्रेल, टोपबहादुर रायमाझी, दलबहादुर राना, लीला गिरी कर्णाली प्रदेशमा युवराज ज्ञवाली, यामलाल कँडेल, गोरख बोगटी, धर्मराज रेग्मी, सुदुर पश्चिम प्रदेशमा भीमबहादुर रावल, लेखराज भट्ट, कर्णबहादुर थापा रहेका छन् ।
त्यसैगरी जनवर्गीय संगठनहरुमा ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको एमालेले जनाएको छ ।त्यसैगरी एमालेले कात्तिक ६ गतेसम्म वडा अधिवेशन र कातिक ९ गतेसम्ममा पालिकाहरुक अधिवेशन गर्नका लागि निर्देशन दिएको छ । एमालेले आगामी फागुनमा स्थनीय तहको चुनाव हुने भएकाले त्यसका तयारीका लागि समयमै अधिवेशन सम्पन्न गर्नका लागि निर्देशन दिएको हो ।
