
वीरगन्ज — १४ भाद्र २०७८
वीरगन्ज, मन्त्रिपरिषद् विस्तारको एजेन्डालाई थाती राखेर सत्तारूढ जनता समाजवादी पार्टीका शीर्ष नेता जिल्ला दौडाहामा लागेका छन् । जसपाका पूर्वअध्यक्ष महन्थ ठाकुरको समूहले नयाँ पार्टी बनाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता ‘कार्यकर्ता जोगाउन’ राजनीतिक अभिमुखीकरण कार्यक्रमका नाममा कार्यकर्तामाझ पुगेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहँदा जसपा अध्यक्ष यादव शुक्रबार जनकपुरको अभिमुखीकरण कार्यक्रममा सहभागी भएर शनिबार वीरगन्ज आइपुगेका छन् । जनकपुर जानुअघि उनले विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
अध्यक्ष यादवका अनुसार अल्पमतमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा फुटाएर सरकार सञ्चालन गर्ने योजनामा थिए । ‘असंवैधानिक कदमविरुद्ध विरोध गर्ने निर्णय जसपाले गर्दा ठाकुर समूह साथमै थियो । जब आन्दोलन बढ्दै गयो, तब ओली कमजोर हुँदै गए । पछाडि फर्केर हेर्छौं त ठाकुर समूह छैन, अनि एकजनाले भने कि उहाँहरू बालुवाटार पुग्नुभएको छ,’ उनले भने । उनले ठाकुर समूह अलग भए पनि फरक नपर्ने दाबी गरे । ‘कहिलेकाहीं हावा चल्दा रूखबाट पात झर्छन्, हाँगा भाँचिन्छ तर रूख उभिरहेको हुन्छ,’ उनले थपे, ‘जसपा फुटेको छैन, झन् बलियो भएको छ । गन्धा विचार भएका स्वार्थी समूह बाहिरिएपछि पार्टी शुद्धीकरण भएको छ । वेदानन्द प्रवृत्तिका व्यक्तिहरू बाहिर गएका छन् ।’ उनले ठाकुर लगायतका नेता बाहिरिएपछि झन्डै ८० प्रतिशत कार्यकारिणी समितिको उपस्थितिमा बैठक गरेको दाबी गरे । जसपाको केन्द्रीय कार्यकारिणी समितिले गत भदौ ६ मा भदौ ९ देखि १७ सम्म सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । जिल्ला दौडाहा सकिएपछि जसपाले संघीय सरकारमा जाने मन्त्रीको टुंगो लगाउने तयारी छ ।
यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष सर्वोच्च अदालतमा मुद्दा हालेर साउन अन्तिम साता मधेस झरेको थियो । प्रतिगमनकारी शक्तिको मतियार बनेको, ओली सरकारमा सहभागी भई पार्टी विभाजनको बीउ रोपेको आरोप चिर्न ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेको थियो । महोत्तरीको जलेश्वरमा अगुवा कार्यकर्ता भेलालाई महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले सम्बोधन गरेका थिए । त्यस्तै राजविराजमा राजेन्द्र महतोले र सिरहामा अनिलकुमार झाले सम्बोधन गरे । बाराको कार्यकर्ता भेलालाई लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनलले सम्बोधन गरे ।
जुटफुट शृंखला
मधेसका मुद्दालाई एकीकृत पार्टीका माध्यमबाट उठाउनुपर्छ भन्ने मान्यताका साथ २०७४ वैशाखमा ६ वटा मधेस केन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी गठन गरिएको थियो । २०७७ वैशाखमा समाजवादी पार्टी र राजपाबीच एकीकरण भई जनता समाजवादी पार्टी बन्यो । त्यसअघि २०७६ वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्तिबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । मधेसकेन्द्रित शक्तिहरू एउटै पार्टीमा अटाएपछि बलिया देखिएका थिए । प्रदेश २ मा जसपाले ३ वर्ष ८ महिना एकल बहुमतको सरकार चलाएको थियो । तर ओलीको असंवैधानिक कदमको समर्थन र विरोधका बीच जसपामा विवाद चुलियो । ठाकुरको समूह प्रदेश २ सरकारबाट बाहिरियो । जसपाका लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेस र माओवादी सहभागी भएका छन् । मधेस आन्दोलनबाट उदाएका नेताहरूले मधेस मुद्दा बिर्सेको राजनीतिज्ञ शिव पटेलको बुझाइ छ ।
( कान्तिपुर दैनिक )
