
वीरगन्ज — १३ भाद्र २०७८
वीरगन्ज, अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए ।२०७५ फागुन २४ मा खुला राजनीतिमा आएपछि उनको समूह मधेस राजनीतिको तेस्रो धार बन्न सक्ने आकलन गरिएको थियो । तर पछिल्लो समय राउत खासै चर्चामा छैनन् । राष्ट्रिय राजनीतिका मुद्दामा पनि उनका क्रिया–प्रतिक्रिया उति सुनिँदैनन् ।साढे दुई वर्ष अगाडि सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका राउतले सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक गरेर आफ्नो नेतृत्वमा २०७५ चैत ४ मा जनमत पार्टी गठन गरेका थिए । त्यसअघि उनी स्वतन्त्र मधेस गठबन्धनका नाममा राजनीति गर्थे । जनमत पार्टी २०७६ जेठ ६ मा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।
उक्त पार्टीको गत चैत अन्तिम साता भएको महाधिवेशनले राउतलाई निर्विरोध अध्यक्ष चुनेको थियो । मूलधारमा आएपछि ओझेलमा परेको र पुराना कार्यकर्ताले पार्टी छाडेको चर्चा मधेसको राजनीतिक क्षेत्रमा भइरहेको छ । पहिले विखण्डनको पाठ रटाएका आफ्ना युवा पंक्तिलाई अहिले सम्झाउन राउतका लागि चुनौती रहेको विश्लेषकको बुझाइ छ । जनमत पार्टीका नेताहरू भने संगठन विस्तारमा केन्द्रित भइरहेको बताउने गरेका छन् ।जनमत पार्टीका महासचिव चन्दन सिंहले चुनाव नजिकिँदै गरेका पार्टीको आन्तरिक गृहकार्यमा आफूहरू लागेको बताए । ‘अबको ६ महिनापछि स्थानीय चुनावको वातावरण बन्न थाल्छ,’ कान्तिपुरसँग फोनमा महासचिव सिंहले फोनमा भने, ‘त्यसपछि अरू चुनाव पनि हुन्छन् । त्यहीअनुसार संगठनको तयारी भइरहेको छ । प्रत्येक जिल्लाको ग्रासरुट लेभलमा बुथ समिति निर्माण गर्ने अभियानमा केन्द्रित छौं ।’ उनले संगठन शुद्धीकरणसँगै पालिका र वडास्तरमा अधिवेशन गरिरहेको जानकारी दिए । ‘हामी लक्ष्यबाट विचलित भएका छैनौं,’ उनले भने ।
जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको थियो । तर कोही पनि विजयी हुन सकेनन् । महासचिव सिंहले भने उपनिर्वाचनमा सांकेतिक रूपले केही ठाउँमा वडा अध्यक्ष र एउटा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले उम्मेदवार खडा गरेको बताए । ‘पार्टी बनेको केही महिना मात्र भएकाले जित हासिल गर्न सकिएन,’ उनले भने, ‘भोट भने राम्रो आयो । आगामी चुनावमा हाम्रो राम्रो उपस्थिति हुन्छ ।’राजनीतिक विश्लेषक विनोद गुप्ताले तराई–मधेसका जनताले मूलधारकै राजनीतिलाई रुचाउने बताउँछन् । ‘सरकारसँग सहमति गरेर मूलधारमा आए पनि सीके राउतले अप्रत्यक्ष रूपले जनमतसंग्रहको माग गर्दै आएका छन्, त्यही भएर नरुचाइएका हुन् । मधेसका जनता नेपालको मूलधारको राजनीतिबाट अलग बस्न रुचाउँदैनन्,’ उनले भने । अमेरिकाको नासामा काम गरेर फर्किएकाले राउतप्रति एउटा तप्काको आकर्षण बढेको उनको बुझाइ छ । ‘नासामा काम गरेर आएकाले केही विशेषता होला भनेर पनि लगाव थियो, पढेलेखेका मानिसले राउतको राजनीति बुझिसकेका छन्,’ उनले भने ।
( कान्तिपुर दैनिक )
