
२४ भदौ, मिथिलाञ्चलमा (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गरि मनाइन्छ ।‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् ।
व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउने गर्दछन । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव राय भन्छन्, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।