Fast Nepal News

कर उठाउन बाजासहित घरदैलो

banner single news

काठमाडौँ — १० भाद्र २०७८

काठमाडौँ, सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले । बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो । नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरू ‘महिला बाजा नमान्नु भारी, कर तिर्दिए हुनेथ्यौं आभारी’ बोलको गीतमा करिब आधा घण्टा नाचे । नाचगानपछि सँगै रहेका नगर प्रहरीले समयमै कर तिर्न माइकिङ गरे । बुधबार प्लाटनम होटलमा जस्तै वडा १ को कान्तिपुर होटल, वडा १७ को ह्वाइट फिल स्कुल, वडा २२ को रञ्जना ट्रेड सेन्टर, केशा प्रपर्टिज प्रालि, आरबी कम्प्लेक्स र वडा ३१ को शिशु अर्यालको घरमै पुगेर गीत गाएका छन् । पञ्चेबाजासहितको कर तिर्न आउन अनुरोध गरेको गीतपछि महानगरले २४ गतेभित्र कर नतिरे सबै सेवा रोक्का गर्ने भन्दै यी ७ ठूला करदाताको ढोकामा सूचना टाँसेको छ ।

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा गएको टोलीमा नगर प्रहरी र महिला नौमती श्रमिक सहकारी समूहका ११ जना सदस्यहरू सहभागी थिए । करदाताकामा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर सुनाएको थियो । यसैगरी महिला सहकारीको टोलीले पञ्चेबाजामा गीतमार्फत कर तिर्न आउन अनुरोध गरेको थियो ।महानगरले कर तिर्न अटेर गर्ने २३ व्यक्ति/व्यवसायीको असार १६ गते र ५२ व्यक्ति तथा व्यवसायीको नाम साउन २४ गते एक सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको थियो । तोकिएको समयसम्म सम्पर्कमा नआउने र कर नतिर्ने करदाताको सबै सेवा बन्द गर्ने महानगरले जनाएको छ । महानगरले कर तिर्न यही २४ गतेसम्म समय दिएको छ । दुई पटक गरी सार्वजनिक गरिएका ७५ मध्ये अहिलेसम्म १० जनाले आंशिक रूपमा कर तिरेको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए ।

Inside Article Ads

त्यसबापत २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन विभागले जनाएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिबद्धता गरेका छन् ।नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरूमाथि भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारबाही सुरु हुने उनले बताए । तोकिएको समयमा कर नतिर्नेलाई महानगरको राजस्व ऐनको दफा १२ बमोजिम करदाताको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायत कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकीसरह असुले गरिने कोइरालाको भनाइ छ । बढीमा २८ वर्षसम्म र न्यूनतम ३ वर्षसम्म पनि कर नतिर्नेको नाम सार्वजनिक गरेको विभागले जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.