
काठमाडौँ — ८ भाद्र २०७८
आफूले बिक्री गरेको उखुको भुक्तानी माग्दै उखु किसान २०७६ वैशाख ३१ यता निरन्तरजसो आन्दोलनमा छन् । गत साउन दोस्रो साता उपत्यकामा पत्रकार सम्मेलन गरेर ‘अल्टिमेटम’ दिएका किसानको माग उद्योगी र सरकारले यसपटक पनि सुनेको छैन ।यसअघि उखु किसानको प्रतिनिधित्व गर्दै सर्लाहीबाट आएका ५ जना किसानले पत्रकार सम्मलेन गर्दै भदौ ५ सम्म सम्पूर्ण रकम भुक्तानी नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएका थिए । तर सरकार र उद्योगीले फिटिक्क चासो नदिएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले गुनासो गरे ।
‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आन्दोलन हुँदा कांग्रेसका वरिष्ठ नेताहरूले आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए । अहिले कांग्रेसकै सरकार छ,’ उनले भने, ‘तर किसानका दुःखबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउन खोज्दा समय नै पाएनौं ।’ २०७६ पुस १८ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी उद्योगीबीच सम्झौता भएको थियो । त्यति बेला माघ ७ सम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो । तर, सम्पूर्ण रकम भुक्तानी हुन सकेन । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ मा तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाएका थिए । कात्तिक २४ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष समस्या समाधानको पहल गरिदिन अनुरोधसमेत गरेका थिए । तर किसानले जहाँ गए पनि आश्वासनबाहेक केही पाएनन् ।
उखु किसानले दाबी गरेको ९० करोड रुपैयाँमध्ये २५ करोड रुपैयाँ मन्त्रालय, उद्योगी र किसानसहितको कार्यदलको प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि कार्यान्वयन भएको छैन ।
उखु किसानसँग सम्बन्धित अन्य समस्याबारे पनि सम्झौता भएको १२० दिनपछि कार्यदल प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि नसकेको किसानको भनाइ छ । ‘हामीले प्रमाणसहित दाबी गरेका थियौं । किटानी रकममा किसानले कति पाउने भन्ने प्रतिवेदनमा उल्लेख गरिएन,’ मिश्रले भने । किसानले दाबी गरेको ९० करोड रुपैयाँमध्ये मन्त्रालयले ६५ करोड सही परिमाण भनेको थियो । तर उक्त रकममध्ये १५ करोड अझै भुक्तानी हुन नसकेको मिश्रले बताए ।विवादितबाहेक महालक्ष्मी सुगर मिलले ५० लाख, अन्नपूर्ण सुगर मिलले ८ करोड, श्रीराम सुगर मिलले ३ करोड, इन्दिरा सुगर मिलले २ करोड र लुम्बिनी सुगर मिलले २ करोड भुक्तानी गर्न बाँकी छ,’ मिश्रले भने, ‘विवादित रकमसहित करिब ४० करोड रुपैयाँ हामीले भुक्तानी पाउन बाँकी छ ।’
‘कडा संघर्षमा उत्रिन्छौं’
लामो समयदेखि चिनी मिलहरूले उखु किसानको रकम भुक्तानी नगरेकोमा ६ वटा किसान संगठनले किसानलाई एकमुष्ट रकम प्रदान गर्न माग गरेका छन् । संगठनले संयुक्त वक्तव्य निकाल्दै किसानले चिनी मिल र अन्य व्यापारीलाई बेचेको उखुको भुक्तानीबापत पाउनुपर्ने सम्पूर्ण रकम (ब्याज तथा हर्जानासमेत) एकमुष्ट प्रदान गर्न आग्रह गरेका हुन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति निकालेर माग सम्बोधन नभए कडा सघंर्षमा उत्रने चेतावनीसमेत दिएका छन् ।उखुको भुक्तानी माग्दै गतवर्ष काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका किसान ।
(कान्तिपुर दैनिक)
