
काठमाडौँ — ८ भाद्र २०७८
काठमाडौँ, एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि अघि सारेका माग पूरा गर्न एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । बालकोटमा सोमबार भएको मध्यमार्गी धारका नेतासँगको छलफलमा ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू तयार रहेको बताएका हुन् ।‘१० बुँदे कार्यान्वयन गर्न म प्रतिबद्ध छु, यसमा मेरो व्यक्तिगत कुरा हैन, पार्टीभित्र देखिएको समस्या समाधान गर्ने उपाय तपाईंहरूले पहिल्याउनुभएको हो, यसको कार्यान्वयन गर्न म तयार छु,’ ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘कार्यान्वयन कसरी गर्ने तपाईंहरू तय गर्नुस् । त्यसपछि संयुक्त बैठकले अनुमोदन गरेर तलसम्म पठाऔं ।’
ओली तयार भएपछि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने जिम्मा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको ती नेताले बताए । तीन नेताले तयार गरेको मोडालिटी मंगलबार संयुक्त रूपमा बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने तयारी छ । बैठकमा मध्यमार्गी नेताहरू पनि सहभागी हुने भएका छन् । यद्यपि स्थायी कमिटीमा रहेका पूर्वमाओवादी नेताहरू सहभागी हुने/नहुने भन्ने टुंगो छैन । ती नेताका अनुसार १० बुँदे सहमति कार्यान्वयनको मोडालिटीमा पार्टीलाई माओवादी केन्द्रसँग एकता हुनुपूर्वको अवस्थाबाट सक्रिय बनाउनेदेखि फागुन २८ यता भएका निर्णयहरू खारेजको प्रक्रिया के हुने भन्ने विषय तयार हुनेछ ।
(कान्तिपुर दैनिक)
