Fast Nepal News

चेपाङ विद्यार्थी राख्‍न छात्रावास

banner single news

हेटौंडा/धादिङ —  ६ भाद्र २०७८

हेटौंडा/धादिङ, टाढाटाढाबाट पढ्न आउने चेपाङ विद्यार्थीको सहजताका लागि मकवानपुर र धादिङका विभिन्न विद्यालयमा छात्रावास निर्माण भइरहेको छ । कतै सञ्चालनमा समेत आइसकेका छन् । आवासीय सुविधा नहुँदा धेरै चेपाङ विद्यार्थीले पढाइ बीचमै छाड्ने गरेका छन् । उक्त समस्या हटाउन चेपाङ समुदायको बाहुल्य रहेका बस्तीका विभिन्न विद्यालयनजिक छात्रावास बनाउन सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग गरिरहेका हुन् ।मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतस्थित सूर्योदय माविनजिक कोरियाली नागरिकको सहयोगमा रोटरी क्लब हेटौंडाले छात्रावास निर्माण गरेर हालै सञ्चालनमा ल्याइसकेको छ । ६० जना अट्ने सुविधायुक्त छात्रावासमा दिनहुँ विद्यालयसम्म पुग्न कठिन हुने चेपाङ विद्यार्थीहरू बस्दै आएका छन् ।

यसैगरी, राक्सिराङ–६ सिलिङेस्थित श्री माविमा वाग्मती प्रदेश सरकारले साढे एक करोडको लागतमा छात्रावास निर्माण गरेको छ । तर कोरोना संक्रमणको जोखिम रहेको भन्दै निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा छात्रावास सञ्चालनमा आइसकेको भने छैन । यो छात्रावासमा ६० जना बस्न मिल्छ ।हाल विद्यालय बन्द छ । यहाँ २ सय जनाभन्दा बढी छात्रछात्राहरू दैनिक ३ घन्टा हिँडेर आउँछन् । केही विद्यार्थी सिलिङेस्थित स्थानीयका घरको पिढीमा बस्ने गरेका प्रधानाध्यापक तारानाथ दुवाडीले बताए । ‘अहिले तयार भएको छात्रावास पनि अपुग छ,’ दुवाडीले भने, ‘सबै विद्यार्थीले पढ्न पाऊन् भन्न थप भवनको आवश्यक पर्छ ।’ उनका अनुसार विद्यालयमा ६ सय विद्यार्थी पढ्छन् । जसमध्ये ९८ प्रतिशत विद्यार्थी चेपाङ समुदायका छन् ।

धादिङका चेपाङ किशोरीहरूको शिक्षामा सहयोग पुर्‍याउन गजुरीमा सुविधा सम्पन्न छात्रावास निर्माण गरिएको छ । गजुरी–१ को हाँगेटारमा निर्मित यो छात्राबासमा बस्न भर्ना पनि थालिएको छ । ३६ जना क्षमताको उक्त छात्रावास बनाउन जिल्ला समन्वय समिति र गजुरी गाउँपालिकाले ४२ रोपनी जग्गा उपलब्ध गराएका थिए । नेपाल चेपाङ संघ धादिङको समन्वयमा प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ड एन्ड डेभलपमेन्ट, फ्रान्ससँगको आर्थिक साझेदारीमा छात्रावास निर्माण भएको हो ।कक्षा १० मा पढ्न गजुरी–२ ताल्तीबाट आएकी अन्जु चेपाङले छात्राबासमा बस्न पाएकोमा खुसी लागेको सुनाइन् ।

Inside Article Ads

‘गाउँमा हुँदा न स्कुलमा पढाइ राम्रोसँग हुने न हाम्रो ध्यान नै जाने । घरको कामकाजले गर्दा पनि पढ्न फुर्सद नहुने भएपछि छात्रावासमै बसेर पढ्ने निधो गरेरै आएकी हुँ,’ उनले भनिन्, ‘हामीजस्ता किशोरीहरूका लागि छात्रावास एउटा घर भएको छ ।’शिक्षाबाट वञ्चित र आर्थिक अवस्था कमजोर भएका किशोरीहरूका लागि छात्रावास निर्माण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । ‘छात्रावास भवन निर्माण अन्तिम चरणमा छ, यसका लागि १ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरेका छौं,’ अर्यालले भने, ‘छात्रावासले चेपाङ किशोरीको शैक्षिक विकासमा उल्लेख्य सुधार ल्याउने विश्वास गरेका छौं ।’   

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.