काठमाडौँ — ६ भाद्र २०७८
काठमाडौँ, विभिन्न मुलुक र संस्थाबाट अनुदानमा प्राप्त एन्टिजेन किट प्रयोग नगरी खेर जाने अवस्था आएको छ । पीसीआर टेस्टभन्दा छिटो र आरडीटीभन्दा विश्वसनीय हुने एन्टिजेन टेस्टमा सरकार उदासीन छ । कतिपय जिल्लामा पीसीआरको रिपोर्ट आउन एक सातासम्म लाग्छ, एन्टिजेन रिपोर्ट आधा घण्टामै आउँछ, जसका लागि प्रयोगशालासमेत आवश्यक पर्दैन । तर, किट प्रयोग नहुँदा एकातिर कोभिड पहिचान तथा नियन्त्रणमा ढिलाइ भएको छ भने अर्कोतिर विदेशी अनुदान खेर जाँदै छ ।
नेपालले अनुदान सहयोगअन्तर्गत मास्कपछि सबैभन्दा बढी एन्टिजेन किट पाएको थियो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाको तथ्यांकअनुसार दोस्रो लहरयता मात्र अनुदान सहयोगअन्तर्गत २० लाखभन्दा बढी एन्टिजेन किट भित्रिएको छ । सबैभन्दा बढी स्विट्जरल्यान्ड सरकारले ११ लाख दिएको थियो । अमेरिकाले ५ लाख, स्पेनले १ लाख २४ हजार, निक साइमन्स फाउन्डेसनले १ लाख दिएका थिए ।त्यस्तै एफएचआई–३६० बाट ६५ हजार, सेभ द चिल्ड्रेनबाट ५० हजार, युनिसेफबाट २८ हजार, थाइल्यान्डबाट २० हजार, फ्रान्सबाट २० हजार किट प्राप्त भएको थियो । स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई करिब २० लाख किट पठाएको छ । तर, सरकारले शनिबारसम्म ४ लाख २९ हजार ४ सय ८२ नमुनाको मात्र एन्टिजेन परीक्षण गरेको छ ।
प्रयोगका सम्बन्धमा प्रस्ट नीति नहुँदा केही स्वास्थ्य संस्थाले सरकारलाई किट फिर्ता पठाउन थालेका छन् । भक्तपुर अस्पतालले हालै मात्र करिब १ हजार ५ सय किट खेर जाने भन्दै सरकारलाई फिर्ता पठाएको छ । ‘हामी आकस्मिक अवस्थामा मात्र एन्टिजेनको परीक्षण गर्छौं, दिनमा सामान्यतः दुई–तीन वटा मात्र किट उपयोग हुन्छ,’ भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले भनिन्, ‘करिब दुई महिना म्याद रहेका किट फिर्ता पठायौं ।’ डा. गौतमका अनुसार एन्टिजेन किटको दुई–तीन ब्याचअनुसार म्याद नाघ्ने समय फरक छ । एउटा लटको किटको ‘एक्स्पायरी डेट’ सन् २०२३ को मार्चसम्म छ भने अर्को लटको सन् २०२१ को सेप्टेम्बर/अक्टोबरसम्म मात्रै छ ।
स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंलाई १ लाख एन्टिजेन किट पठाएको थियो तर एक तिहाइ पनि प्रयोग भएको छैन । ‘सबैजसो किट स्थानीय सरकार/पालिकाहरूलाई बाँडिएको हो तर दुई महिनामा ३० हजार ८ सय ११ वटा मात्रै उपयोग भएको छ,’ स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले भने । महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षणलाई स्वैच्छिक नभई बाध्यकारी बनाउनुपर्ने उनको भनाइ छ । म्याद गुज्रिन १५–२० दिनमात्र बाँकी रहेका केही किटको प्रयोग व्यापक बनाउन भनिसकेको उनले बताए ।स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य कार्यालय काठमाडौंमा गत शुक्रबार नै १ हजार ६ सय किटको म्याद नाघेको छ । ‘विभिन्न जिल्लामा छिट्टै म्याद नाघ्ने किट करिब १ लाखभन्दा बढी रहे पनि यसबारे सम्बद्घ निकायले खासै चासो देखाएको छैन,’ मन्त्रालय स्रोतले भन्यो । आपूर्ति व्यवस्थापन शाखाले केही दिनदेखि केही महिनाभित्र म्याद नाघ्ने किटको संख्याबारे यकिन तथ्यांक नभएको र यो संख्या कम भएको दाबी गरेको छ ।
चाहिएको अवस्थामा फिर्ता ल्याउन सक्ने गरी स्वास्थ्य मन्त्रालयले हरेक स्थानीय सरकारलाई किट पठाएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । हालसम्म ४ लाख २९ हजारजति किट मात्रै उपयोग भएको तर पछिल्लो विवरण नआएको उनको भनाइ छ । ‘किटको समुचित प्रयोगबारे मास्कजस्तै अभियानका रूपमा लिएर जानुपर्ने हुन सक्छ,’ उनले भने ।भक्तपुर अस्पतालकी डा. गौतम भने आम मानिसमा एन्टिजेन किटप्रति विश्वास कम भएकाले समस्या उत्पन्न भएको बताउँछिन् । ‘हालै कोरियन अस्पतालले १० हजार जनाको एन्टिजेन परीक्षण गर्ने भनेको थियो,’ उनले भनिन्, ‘पहिलेको आरडीटीको छाप परेर पनि होला, हजार जना पनि आएनन् ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले पनि आम व्यक्ति एन्टिजेन परीक्षणप्रति उत्सुक नदेखिएको बताइन् । वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी सरकारले पर्याप्त जनशक्ति परिचालन नगरेकाले किटको व्यापक प्रयोग हुन नसकेको बताउँछन् । ‘एन्टिजेन परीक्षण गर्न व्यापक रूपमा दक्ष पर्याप्त जनशक्ति परिचालन गर्नुपर्थ्यो त्यो गरिएन,’ उनी भन्छन् । कोरोनाका हटस्पटहरूमा किटको प्रयोग व्यापक बनाउन सके महामारी नियन्त्रण प्रभावकारी हुने उनको भनाइ छ ।
डा. बीसीका अनुसार एन्टिजेन परीक्षण गर्दा संक्रमण फैलावट, गतिशीलतालगायत महामारीको स्वरूप थाहा पाउन सहज हुन्छ । संक्रमण फेरि बढ्ने क्रममा रहेकाले सीमा नाकाबाट भित्रिने र राजधानी आउने वा एक जिल्लाबाट अर्को जिल्ला यात्रा गर्ने सबैको अनिवार्य परीक्षण गर्न उनले सुझाव दिए । कोभिड संक्रमितमध्ये करिब ८० प्रतिशतमा लक्षण देखिँदैन तर यस्ता लक्षण नदेखिएका संक्रमितले समेत आफ्नो सम्पर्कमा आउने अन्य व्यक्तिलाई रोग सार्न सक्ने भएकाले परीक्षण अनिवार्य हुन्छ । सीमा नाकाबाट भित्रिनेहरू ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आएका छैनन् भने एन्टिजेन परीक्षण गर्नुपर्ने र पीसीआर रिपोर्ट लिएर आएको भए पनि लक्षण देखिँदा एन्टिजेन परीक्षण प्रभावकारी हुने डा. बीसीले बताए ।
एन्टिजेनको प्रभावकारिता
विज्ञहरूका अनुसार कोरोनाविरुद्घको लडाइँमा र्यापिड एन्टिजेन जाँच नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकका लागि अत्यन्त उपयोगी छ । छिमेकी मुलुक भारतको दिल्ली राज्यले कोभिड संक्रमणलाई नियन्त्रणमा राख्न एन्टिजेन किटको उच्चतम प्रयोग गरेको हो ।‘कोभिड परीक्षणका लागि आरटी पीसीआर जाँच स्ट्यान्डर्ड (स्तरीय) परीक्षण मानिन्छ,’ त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका प्रमुख डा. विनोद यादव भन्छन्, ‘तर, कोभिड संक्रमणको दोस्रो लहरमा एन्टिजेन किटको समेत उच्च शुद्घतासहित व्यापक उपयोग देखिएको छ । डब्लूएचओबाट मान्यता प्राप्त एन्टिजेन किट मात्र प्रयोग गर्नुपर्छ ।’ पीसीआर जस्तै एन्टिजेन परीक्षणको समेत फाइदा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. झाले बताइन् ।
पीसीआर नमुनाको परीक्षणमा ६–८ घण्टा र दुर्गमबाट नमुनालाई प्रयोगशालासम्म पुर्याउन नै एक–दुई दिनभन्दा बढी लाग्न सक्छ । फेरि प्रयोगशालामा नमुनालाई नम्बरिङलगायत प्रक्रियामा ९–१० घण्टा लाग्ने विज्ञ बताउँछन् । नमुना संकलनदेखि रिपोर्ट आउँदासम्म ३ देखि ५ दिनसम्म लाग्न सक्ने डा. यादवले बताए । र्यापिड एन्टिजेन परीक्षणमा पोजिटिभ आए कोभिड पोजिटिभ हो । यदि परीक्षण नेगेटिभ भए पनि लक्षण देखिएको छ भने आरटी पीसीआर गराउनु आवश्यक हुने उनको भनाइ छ । एन्टिजेन किटले १५ मिनेटदेखि आधा घण्टासम्ममा नतिजा दिन्छ । यो परीक्षणका लागि प्रयोगशाला वा मेसिनको आवश्यकता पर्दैन ।
(कान्तिपुर दैनिक)