
काठमाडौँ — ४ भाद्र २०७८
काठमाडौँ, अफगानिस्तानको बदलिँदो राजनीतिक परिस्थितिसँगै सुरक्षा चुनौती थपिएपछि त्यहाँ कार्यरत थुप्रै नेपाली स्वदेश फर्कन चाहिरहेका छन् । तर उनीहरू त्यहाँबाट निस्कन पाइरहेका छैनन् ।अमेरिका–बेलायतलगायत देशका कूटनीतिक नियोगमा कार्यरत केही नेपाली दोहा, कुवेत हुँदै नेपाल फर्किए पनि अझै थुप्रै व्यक्ति त्यहीँ अड्किएका छन् । उनीहरूलाई विमानस्थलसम्म आइपुग्नै सकस परेको छ । राजधानी काबुलस्थित जर्मन दूतावासमा कार्यरत दोलखाका सुमन मोक्तान र इटालियन दूतावासमा कार्यरत इलामका सन्तोषकुमार झन्डै ७२ घण्टाको प्रयासपछि शुक्रबार बिहान ७ बजे विमानस्थल पस्न सकेका छन् । ब्रिटिस सेनाको मद्दतमा उनीहरू र भारतीय मूलका नेपालीसहित ८७ जनाले प्रवेश पाएका हुन ।
होटलमा खानेकुरा केही थिएन । साथीहरूले कहिलेकाहीँ बिस्कुट दिन्थे । नत्र पानी पिएर बस्नुपर्यो । मंगलबार बिहानदेखि खाना खाएका थिएनौं । भारतीयको साथमा भएकाले हामीलाई दिल्लीस्थित नेपाली दूतावासले भारतबाट आउने विमानमा ल्याउने पहल भइरहेको खबर दिएको थियो । यताको अवस्था नाजुक भएकाले भारतबाट विमान आउन पनि सकेन । उडान नै रद्द भएको खबर आयो ।ब्रिटिस सेनाले समन्वय गरेर शुक्रबार बिहान ७ बजे विमानस्थलभित्रको अमेरिकी सेनाको क्याम्पभित्र ल्याएको छ । अबचाहिँ बाँचिएला कि भन्ने आस बढेको छ । उनीहरूले खाना खान दिए । हामीलाई विशेष स्थानमा ल्याएर राखेको छ । यहाँबाट पालैपालो अमेरिकी सेनाले लिएर जाने कुरा छ । तर, कता लैजाने हो, थाहा छैन । कसैले दोहा लैजान्छ भनेको छ, कसैले दुबई । यहाँबाट निस्केर जता पुगे पनि नेपाल त पुगिहालिन्छ । खालि काबुलबाट बाहिरिन पाउनु पर्यो ।
(कान्तिपुर दैनिक)
