Fast Nepal News

भाँडे संक्रान्तिको रौनक

banner single news

बझाङ — ४ भाद्र २०७८

बझाङ, सीमान्तकृत बादी समुदायमा ‘भाँडे’ संक्रान्ति पर्वको रौनक सुरु भएको छ । यो बादी समुदायको ठूलो चाड हो । भदौ महिनाको संक्रान्तिलाई जिल्लाका अन्य समुदायले गावे संक्रान्ति पर्वका रुपमा एक दिन मनाउँछन् ।सुदूरपश्चिमका अन्य जिल्लामा यो पर्वलाई ‘ओल्के’ संक्रान्तिका रूपमा धुमधामसंँग मनाउने गरेका छन । तर बझाङका बादी समुदायले भने ‘भाँडे संक्रान्ति’ पर्वलाई १५ दिनसम्म मनाउने गर्छन् ।यो पर्वका अवसरमा अन्य समुदायका मानिसले मिठो मसिनो पकाएर खाने, पोइली गएका छोरी चेलीलाई माइतीमा बोलाउने गर्दछन् । गावे संक्रान्तिमा पकाइने खानामा पिँडालुको गावाको परिवार अनिर्वाय हुने गर्दछ ।

यता बादी समुदायले भने भाँडे संक्रान्ति पर्वमा अनुहारमा कमेरो र मुकुन्डो लगाई, शरीरमा कमेरो दलेर, काठको घोडामा चढी गाउँ गाउँमा नाचगान गर्दै नगद तथा अन्नपात संकलन गर्छन । बझाङको सदरमुकाम चैनपुर बजार र थलारा गाउँपालिकाको कोट क्षेत्रमा बसोबास गर्ने विपन्न बादी समुदायका मानिस यो पर्वमा एकै ठाउँमा भेला हुने गर्छन ।यो पर्वको सुरुवात हालको जिल्ला प्रशासन कार्यालय रहेको बझाङी राजाको हात्तीसार दरबारबाट हुने र १५ दिनसम्म सदरमुकाम र आसपासका गाउँमा मादल र सारंगी बजाएर नाचगान गर्दै रमाइलो गरिने चैनपुरका रमेश बादीले बताए ।तत्कालीन समयमा बझाङी राजाहरूलाई मनोरञ्जन दिने उद्देश्यले थालिएको अनुमान गरिएको यो पर्वलाई बादी समुदायले निरन्तरता दिदै आएका छन ।

माटाका भाँडा बनाउने भएकोले बादीहरूलाई भाँड भनिएको र भाँडहरूले मनाउने भएकोले यो पर्वको नाम भाँडे संक्रान्ति रहन गएको जानकारहरूको भनाइ छ । हाल आएर आधुनिक प्रविधिको विस्तारले बादी समुदायको माटाका भाँडा बनाउने पेशा पूर्ण रूपमा लोप भइसकेको छ ।विवाह व्रतबन्धमा नाचगान गरेर खाने चलन पनि सूचना प्रविधि र मनोरञ्जनका आधुनिक साधनको विस्तार भएसँगै लोप भइसकेको छ । आफ्नो परम्परागत पेसा लोप भएको र अन्य पेसा अपनाउन नसकेको कारण यो समुदायमा अहिले पनि चरम गरिबी रहेको छ । ‘भाँडे संक्रान्तिमा उठाएको पैसा र अन्नपात पर्व सकिएको अन्तिम दिन भाग हाल्नुपर्छ । यसैले एक दुई महिनासम्म गुजारा चल्ने भएकाले यो पर्व आउँदा बादीहरू निकै खुसी हुन्छन्’ स्थानीय राधा बादीले भनिन् ।

Inside Article Ads

उनले हर्षोल्लासका साथ मनाइने यो पर्व आउनुभन्दा केही दिन पहिलादेखि नै बादी समुदायमा तयारी सुरु हुने गरेको बताइन् । पहिला पहिला बादी समुदायले भाँडे संक्रान्ति मनाएको हेर्न विभिन्न गाउँबाट सदरमुकाममा मानिस आउने गरेका थिए । हाल आएर अरू समुदायको यसप्रति चासो घट्दै गएको पाइएको उनको भनाइ छ ।उसो त पछिल्लो समयमा बादीहरूले पनि भाँडे संक्रान्ति पर्वलाई पहिलाको जति महत्त्व नदिने गरेको बादी समुदायका सदस्यहरू नै बताउँछन् । यहाँका अन्य जातिहरूले यसलाई महत्त्व दिन छाडेका कारण बादी समुदायमा पनि यसको महत्त्व घटन थालेको स्थानीय लक्ष्मी बादीले बताइन् ।‘पहिला जिल्लाभरका मान्छे भाँडे संक्रान्ति हेर्न भनेर यहाँ आउने गर्थे’ लक्ष्मीले भनिन, ‘त्यो दिन मेला नै लाग्थ्यो । अहिले अरूले पनि बिर्से, हाम्रा मान्छेमा पनि पहिला जस्तो चासो छैन ।’

(कान्तिपुर दैनिक)

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.