Fast Nepal News

ठाकुर पक्षका सांसदको पद जोगियो

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ, नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै जसपाको महन्थ ठाकुर पक्ष उत्साही बनेको छ । ठाकुर पक्षले २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति भएको जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन दिएको हो ।ठाकुरको नेतृत्वमा रहेको नयाँ पार्टीमा राजेन्द्र महतो वरिष्ठ नेता छन् । चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार दल दर्ता गर्दा समावेशी प्रक्रिया नमिलेकाले सदस्यको संख्या अझै बढ्ने बताए । राजनीतिक दल दर्ता गर्न कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्छ । ठाकुरको नयाँ पार्टीमा चार जना मात्रै महिला छन् । दुई निलम्बितबाहेक ३२ सांसद रहेको जसपामा ठाकुर पक्षमा १३ सांसद उभिएका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा रहेका रेशम चौधरीलाई ठाकुर पक्षले आफ्नो नयाँ दलमा ल्याएको छ । पछिल्लो समय उनी तटस्थ बसेका थिए । तटस्थ बसेकै कारण जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट उनलाई हटाएका थिएनन् । फौजदारी अभियोगमा सजाय भोगिरहेका उनीसँग जेलमै पुगेर समर्थन लिई कार्यकारिणी समितिमा राखिएको नेता शुक्लले बताए ।असार ११ मा यादवले नेतृत्व गरेको जसपाले आधिकारिकता पाएपछि ठाकुर पक्ष पार्टीविहीन बनेको थियो । ठाकुर अध्यक्षबाट हटाइएका थिए । वरिष्ठ नेता राजेन्द्र महतोसहित ठाकुर पक्षमा रहेका सबै केन्द्रीय कार्यकारिणी समितिका सदस्य र केन्द्रीय सदस्यको पार्टीगत हैसियत खोसिएको थियो ।

आफ्ना सांसद र जनप्रतिनिधि जोगाउन साधारण सदस्यको हैसियतमा ‘अपमान’ सहेर बसिरहेकै बेला प्रधानमन्त्री देउवाले ल्याइदिएको अध्यादेश आफूहरूका लागि ‘अमृत’ भएको नेता केशव झाले बताए । ‘जुन अध्यादेशले पार्टी एकता गराएको थियो, अहिले त्यही अध्यादेशले विभाजन पनि गरायो,’ नेता झाले भने, ‘पार्टीविहीन र सांसद रहने/नरहने अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेश हाम्रा लागि अमृत समान बन्न पुग्यो ।’संयोग पनि यस्तो छ, २०७७ वैशाख ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा यादव नेतृत्वको समाजवादी र ठाकुरसहित ६ नेताको नेतृत्वमा चलेको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएको थियो । ओलीले तत्कालीन समाजवादी पार्टी विभाजन गर्ने लक्ष्य राखेर अध्यादेश ल्याएका थिए तर त्यसको उल्टो प्रभाव परेको थियो । दल फुट्ने जोखिममा समाजवादी र राजपाले वैशाख १० को मध्यराति पार्टी एकीकरण गरेका थिए ।

Inside Article Ads

अहिले देउवाले ल्याएको अध्यादेशले एक वर्ष चार महिनामै जसपा विभाजन भएको छ । ओलीले पहिलोपल्ट पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा त्यसको विरोधमा एकढिक्का देखिएको जसपामा फागुन ११ मा प्रतिनिधिसभा पुन:स्थापनापछि वैचारिक विचलन सुरु भएको थियो । ठाकुर पक्ष केपी ओलीको सत्ता टिकाउने मोर्चामा सहभागी बन्यो भने यादव पक्ष ओलीलाई विस्थापित गर्ने विपक्षी मोर्चामा उभियो ।

वैधानिक बाटोबाट पार्टी विभाजन गर्ने अवसर जुरेपछि ठाकुर पक्षका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद जोगिने भएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पार्टीले आधिकारिकता पाएपछि कुन पार्टीमा लाग्ने भन्ने निर्णय २१ दिनभित्र दिनुपर्ने हुन्छ । नेता शुक्लले लोकतान्त्रिक धार भएको पार्टीका रूपमा जसपा नेपाल (लोकतान्त्रिक) लाई अघि बढाउने बताए ।उनका अनुसार जसपाभित्र लोकतान्त्रिक विचार र संगठनभन्दा पनि कम्युनिस्ट दर्शन र विचार हावी थियो । ‘यस्तो दर्शनबाट अघि बढ्न हामीजस्ताका लागि अप्ठ्यारो पनि परेको थियो,’ शुक्लले कान्तिपुरसँग भने, ‘अब हामी यो पार्टीलाई वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा लानेछौं । हाम्रा सबै विचार, कार्यक्रम र संगठनको स्वरूप लोकतान्त्रिक मोडलमा अघि बढ्नेछन् ।’

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.