Fast Nepal News

एमाले विभाजन : कम्युनिस्ट टुटफुटको नयाँ अध्याय

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ, सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा बुधबारबाट फेरि अर्को नयाँ पाठ थपिएको छ । आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको ‘एमाले’  औपचारिक रुपमै दुई चिरा परेको छ ।अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । योसँगै झापा आन्दोनलको धारबाट विकशित हुँदै मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टी बनेको दल दोस्रोपटक टुक्रिएको छ ।

यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा एमाले विभाजित भएको थियो । तर, २०५८ सालमा पुनः एकिकृत हुँदै शक्तिआर्जन गरेको एमाले अहिले शीर्ष नेताहरूको कार्यशैली र अहम् व्यवस्थापनमा चुक्दा फेरी विभाजनमा पुगेको छ ।विगतमा कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा जे जस्ता व्यक्तिगत लाञ्छनाहरू र आरोपहरू लाग्थे, ती आरोपहरू यसपटक फेरी दोहोरिएका छन् । यो झगडा सैद्धान्तिकभन्दा बढ्ता व्यक्तिगत छ । तर, अध्यक्ष केपी शर्मा ओली र विद्रोही नेता माधवकुमार नेपाल दुवैले विभाजनलाई सैद्धान्तिक मतभेदका रुपमा विश्लेषण गर्ने कोशिस गरेका छन् ।ओलीले नेपाललाई यसअघि नै ‘गद्दार’, ‘देशद्रोही’ करार गरिसकेका थिए । पार्टीबाट निष्कासन गर्दै ‘आममाफी’ पनि दिँदै आएका थिए । तर, ओलीले नेपाल पार्टीको नीतिभन्दा बाहिर गएर सिद्धान्तबाटै विचलित हुँदै कांग्रेसको पिछलग्गु बनेको आरोप लगाएका छन् ।
यता नेता नेपालले पनि ओलीले पार्टीका नीति, विचार, सिद्दान्तहरूलाई लत्याएर निरंकुश, तानाशाही बाटोमा हिँडेको आरोप लगाउँदै आएका छन् । उनले बुधबार पार्टी विभाजनको स्पष्टीकरणका लागि जारी गरेको अपिलमा पनि यी कुरा उल्लेख गरेका छन् । अझ उनले कम्युनिस्ट आन्दोलनलाई ओलीले नै विसर्जनको बाटोमा लैजान खोजेकाले पार्टीको मुलधारलाई जोगाउन विद्रोह गरी एमाले पुनगर्ठनको बाटोमा गएको उल्लेख गरेका छन् ।ओली र नेपालका तत्कालिन राजनीतिक सहयात्री समेत रहेका मालेका महासचिव सिपी मैनाली अहिलेको एमालेको विभाजनलाई ‘व्यक्तिगत स्वार्थ’ कै एक परिणामको भएको बताउँछन् । ‘व्यक्ति र गुटको स्वार्थ, सत्तामा पुग्ने र त्यसको दुरुपयोग गर्ने प्रवृतिले निम्त्याएको संकट हो । जनताको धेरै ठूलो समर्थन पाएपनि त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन्,’ मैनालीले भने ।

पछिल्लो विवाद कसरी चुलियो ?

तत्कालिन प्रधानमन्त्री ओलीले साविकको नेकपामा हुँदा केही स्वेच्छाचारी प्रवृत्ति देखाए । त्यही कारण पुष्पकमल दाहाल र माधव नेपालको आन्तरिक गठजोड बलियो भयो । ओली पार्टी भित्र कमजोर बने । आफू कमजोर बनेपछि ओलीले शक्ति आर्जन गर्ने सबैखालका हतकण्डा अपनाए । जसको पहिलो सुरुवात विन्दु थियो– गतवर्ष बैशाखमा ओलीले ल्याएको दल विभाजन गर्ने अध्यादेश । उक्त अध्यादेशको विरोधमा नेपाल पनि उभिए । यद्यपी अहिले त्यस्तै ओलीले ल्याएको भन्दा पश्चगामी अध्यादेशको बलमा नेपालले दल विभाजन गरेका छन् ।पार्टी भित्रको विवाद बढ्दै गएपछि गत पुसमा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघट्न गरेका थिए । उक्त विघट्नको विरोधमा नेपाल सडक आन्दोलनमै उत्रिए फागुन ११ मा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघट्न बदर भयो । त्यसपछि अर्को महत्त्वपूर्ण तिथि आयो– फागुन २३ गते । सर्वोच्चले नेकपाको एकिकरणलाई स्वीकारेन । तत्कालिन एमाले र माओवादी केन्द्र आ–आफ्नो पुरानै दलको अवस्थामा पुगे । त्यसपछि एमालेमा झन् ठूलो विभाजनको खाडल देखापर्‍यो ।

फागुन २८ गते अध्यक्ष ओलीले आफू निकटका नेताहरूको बैठक राखेर सदस्यहरूको थप गरेपछि नेपाल पक्षमा असन्तुष्टी चुलियो । त्यसविरुद्ध चैतको पहिलो साता नेपाल पक्षले राजधानी काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । त्यही समानान्तर गतिविधिको पटाक्षेप बुधवार पार्टी विभाजनको रुपमा भयो । यो विभाजनले पाँच दशकअघि झापा विद्रोहको भ्रुणबाट शुरु भएको एमाले नयाँ चक्रमा प्रवेश गरेको छ ।

कसरी बनेको थियो पार्टी

Inside Article Ads

२०२८ सालमा झापामा वर्ग शत्रुको सफाया आन्दोलनबाट माले हुँदै अहिलेको एमाले बनेको हो । २०३२ जेठमा को–अर्डिनेसन केन्द्र गठन भयो । यसले झापा विद्रोहलाई राजनीतिक आवरण दियो ।त्यसपछि विभिन्न साना घटकहरू संगठित हुन आए । पूर्वतर्फ सक्रिय को–अर्डिनेसन केन्द्र र पश्चिम नेपालमा सक्रिय रहेको मुक्ति मोर्चासँगको एकीकरण हुँदै २०३५ सालमा नेकपा मालेको गठन भएको थियो । त्यस समयको नेतृत्व सीपी मैनालीले गरेका थिए । केन्द्रको स्थापनादेखि नै नेता माधवकुमार नेपाल पार्टीको शीर्ष नेतृत्वमा रहे, अध्यक्ष ओली भने जेलमा थिए ।

२०३९ सालमा पार्टी स्वतन्त्रता की राजनीतिक स्वतन्त्रताको निकै ठूलो विवाद चर्कियो । पार्टी स्वतन्त्रता पक्षमा रहेका महासचिव मैनालीलाई पार्टीले कारवाही गर्‍यो । मैनालीले पार्टी विभाजन भने गरेनन्, तर कार्यकर्ताको ठूलो पंक्तिले राजनीति छाडे वा निष्कृय बने । कतिपयले यसलाई मुक्ति मोर्चा र को–अर्डिनेसन केन्द्रबीच शक्ति संघर्षको रुपमा लिने गरेका छन् । तर, नेपाल र झलनाथ खनालसहितका को–अर्डिनेसन केन्द्रका नेताहरूको साथ लिएर मदन भण्डारी र जीवराज आश्रितसहितका नेताहरूले सीपी मैनालीमाथि कारवाही गरेका थिए ।मैनाली भने एमालेभित्र संगठनात्मक संकटको शुरुवात चालीस वर्षअघिदेखि नै शुरु भएको ठान्दछन् । ‘२०३९ देखि नै नेता तथा कार्यकर्ताहरूको मुल्याकंन गर्न सक्रियता र योगदानभन्दा पनि नेताहरूले आफ्नो निकटता र दुरीको आधारमा अराजनीतिक तरिकाले मूल्याकंन गर्न थाले । त्यसले पछि गएर यो एउटा गुटबन्दीमा पुग्यो,’ मैनालीले भने, ‘गुट र नेताको फाइदाको निम्ती जनता र राष्ट्रको हितमा सम्झौता गर्न थाले । पछि आएर त्यो गुटबन्दी निषेधमा परिणत भयो र अहिलेको समस्यासम्म आइपुगेको हो ।’

मैनाली २०४९ सालदेखि एमालेमा आएको वैचारिक स्खलनले अहिलेको अवस्थामा पुर्‍याएको बताउँछन् । जेलबाट छुटेपछि ओली २०४५ सालबाट तत्कालीन मालेको केन्द्रीय सदस्य बनेका थिए । तर, नेता नेपालको हैसियत भने पार्टीमा दोस्रो नेताको थियो ।राजनीतिशास्त्रका सहप्राध्यापक खगेन्द्र प्रसाईं झापा आन्दोलन र को–अर्डिनेसन केन्द्रबाट शुरु भएको एमालेको ‘फेज’ सकिएको बताउँछन् । नयाँ परिस्थितअनुसारका नीतिहरू लिन नसक्दा अहिलेको समस्या आएको उनको बुझाइ छ । ‘झापा आन्दोलन र को–अर्डिनेसन केन्द्र बन्दा शुरु भएको एमालेको फेज सकियो । नयाँ परिस्थितमा नयाँ आधारमा पार्टीअघि बढाउन सकेन् । गुटहरूको व्यवस्थापन गर्दै अहिलेसम्म एमाले टिक्दै आएको थियो,’ प्रसाईंले भने, ‘अहिले एमालेका गुटहरू निषेधको चरणमा छन् ।’

ओली– नेपालः संघर्ष र सहकार्य

बहुदलीय व्यवस्था शुरु भएपछि ओली र नेपालबीचको सम्बन्धमा सहकार्य र संघर्ष दुवै देखिन्छ । मदन भण्डारी र जीवराज आश्रितको निधनपछि पार्टी सत्तामा पुगेका नेपाल र ओलीबीच पाँचौ र छैठौं महाधिवशेनमा सहकार्य थियो । एकीकृत महाकाली सन्धि पारित गर्ने समयमा दुवै नेता एकै कित्तामा थिए । एमाले विभाजन भएर माले गठन हुँदा पनि ओली र नेपाल एकैस्थानमा थिए ।सातौं महाधिवेशनमा ओली र नेपाल दुई विपरित कित्तामा बसे । सातौं महाधिवेशनमा ओलीले पार्टीलाई बहुपदीय संरचनामा लैजाने प्रस्तवा ल्याएका थिए । तर, त्यो प्रस्ताव हलमै प्रवेश पाएन । त्यसबेला शक्तिशाली रहेका नेपाल महासचिव प्रणालीमा बस्नुपर्ने अडानमा थिए । तर, त्यो लामो समयसम्म रहेन ।आठौं महाधिवेशनमा पार्टी बहुदपीय प्रणालीमा गयो । झलनाथ खनाल र वामदेव गौतमको गठबन्धन बन्यो । त्यसविरुद्ध ओली र नेपाल एक स्थानमा थिए ।नवौं महाधिवेशनमा आइपुग्दा दुवै नेताहरू फरक समूहको नेतृत्व गर्दै समूहगत रुपमा प्रतिस्पर्धा उत्रिए ।

महाधिवेशनमै भएको गुटको आधारमा दुवै पक्षले आ–आफ्नो अनुकुल हुने गरी पार्टी भित्र समानान्तर गतिविधि बढाउँदै लगे । ओलीमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएको दम्भ चढ्यो । नेपालले पार्टी भित्र यसअघि एकछत्र १५ वर्ष राज गरेको बिर्सिए, ओलीसंँगको हारलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर महाधिवेशन बनेको समुहलाई निरन्तरता दिए ।सहप्राध्यापक प्रसाईं पार्टी सञ्चालन लोकतान्त्रिक रुपमा हुन नसक्दा समस्या आएको ठान्दछन् । ‘पार्टीमा लोकतान्त्रिक विधि भयो भने मेरो कुरा सुनिने छ र मलाई किरानाकृत गरिने छैन भन्ने भयो भने पार्टीमा बस्छन् नत्र छाडेर हिँड्छन्,’ प्रसाईंले भने, ‘स्वार्थको आधारमा बनेको गुट पद, पैसा वा साझेदारीबाट शक्तिहरू बाँडफाँट गरेर व्यवस्थित गर्न सकिन्छ । तर, त्यो पद वा स्रोत बाँड्ने कुरा सिमित हुन्छ । सबै कुरा बाँड्दा लामो समयसम्म टिक्न सक्दैन ।’

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.