
लुम्बिनी — २ भाद्र २०७८
लुम्बिनी , रूपन्देही सैनामैना–४ का सुरज थापामगर सोमबार बिहान बुटवल आए । निजी कामले आएका उनी खाना खाने समय भएपछि स्थानीय मगर्स किचनमा पुगे । त्यहाँ उनले पालैपालो कोदोको रोटी, ढिँडो, टिमुर र टमाटरको चटनी, छोप खाए । ‘सबै स्वाद मन पर्यो,’ उनले भने, ‘गाउँघरकै याद आयो ।’ गुल्मीमा जन्मिएकाले गाउँको खानाका परिकार सम्झिरहेका बेला बुटवलमै परिकार पाइन थालेपछि मन लागेका बेला आएर खाने गरेको उनले बताए । ‘आमाले कोदोको पिठो पठाइदिँदा खाइन्छ,’ उनले भने, ‘अहिले मन लाग्दा यहाँ आयो, खायो ।’ पहाडमा बुबाआमाले के खाएर हुर्किनुभयो भन्ने नयाँ पुस्तालाई जानकारी नभएको उनको भनाइ छ । अहिले सहरमा यस्ता पम्परागत होटल तथा खाजाघरमा रैथाने खाना चाख्न भीड लाग्ने गरेको उनी बताउँछन् ।
कोदो, फापर, सिस्नो, मकै, भटमासलगायतका वस्तु गुल्मी, बागलुङ र पाल्पाका ग्रामीण भेगबाटै किनेर ल्याउने गरेको उनले जानकारी दिए । तिलोत्तमा–५, मणिग्राममा रहेको मिस्टर कोर्न नामक मकै परिकार पाइने क्याफे सञ्चालन सुरु भएदेखि नै यहाँ मानिसको घुइँचो लाग्न थालेको छ । लोकल मकैको बार्बिक्यु गरी विभिन्न ससमा डोबी पोलेर चखाउँदा ग्राहक लोभिने गरेको मिस्टर कोर्नका संस्थापक निश्चल जोशीले बताए ।उपत्यकाबाहिर मणिग्राममा खोलेको पाँचौं शाखाले रूपन्देही आसपासका मानिसलाई घरमै फल्ने मकैबाट बन्ने विभिन्न परिकारका साथै अमेरिकन र स्विट बेबी कोर्नका परिकारसमेतको स्वाद चखाउने गरेको उनले जानकारी दिए ।
युवा वर्गले रुचाउने मकैको पकौडा, मकैको मःमलगायत बिर्यानी र फ्राई राइस पनि पाइने तिलोत्तमास्थित उक्त क्याफे सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।गाउँको परिवेशमा पाक्ने खाना र पुर्खाले खाइरहेको खानालाई नयाँ तरिकाले युवा व्यवसायीले सञ्चालन गर्दा राम्रो सन्देश जाने बुटवलका पुराना होटल व्यवसायी केशवराज ज्ञवालीको भनाइ छ । लोप हुन लागेका नेपालीका खानाबारे अहिलेको पुस्तालाई जानकारी गराउन पनि यस्ता खानाले सहयोग गर्ने उनले बताए ।
(कान्तिपुर दैनिक)
