Fast Nepal News

अफगानिस्तानमा नेपाली : अवैध बाटो गएकाहरूको उद्धारमा चुनौती

banner single news

नयाँदिल्ली — २ भाद्र २०७८

नयाँदिल्ली, भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीको सकभर चाँडो उद्धारका लागि पहल भइरहेको जनाएको छ । भारतस्थित दूतावासले भुटान र अफगानिस्तान पनि हेर्ने गर्छ । दूतावासका अनुसार काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगमा कार्यरत नेपालीको उद्धारका लागि सम्बन्धित देशका सरकारमार्फत पहल भइरहेको छ । त्यसैअनुसार अमेरिकाले १ सय ८७ नेपालीको उद्धार गरिसकेको छ । दूतावासका अनुसार काबुलस्थित अमेरिकी नियोगमा कार्यरत ५ सय ६९ मध्ये १ सय ८४ जना बिदामा थिए । बाँकी नेपालीलाई उद्धारका लागि तयारी अवस्थामा काबुलस्थित विमानस्थलमा राखिएको छ ।

दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले काबुलमा रहेका नेपालीको उद्धारका लागि विभिन्न माध्यमबाट पहल भइरहेको बताए । उनले दिल्लीमा रहेका विभिन्न देशका दूतावासमार्फत नेपालीको उद्धार गर्न समन्वय भइरहेको जनाए । ‘दूतावासको सम्पूर्ण संयन्त्र औपचारिक तथा अनौपचारिक माध्यमबाट नेपालीको उद्धारका लागि सक्रिय छ,’ उनले भने, ‘काबुलमा रहेका नेपालीसँग पनि दूतावासले सम्पर्क बढाउँदै लगेको छ ।’दूतावासका अनुसार अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली विभिन्न निकायमा कार्यरत छन् । तीमध्ये धेरैजसो काबुलस्थित विभिन्न देशको नियोगमा कार्यरत छन् । सबैभन्दा बढी अमेरिकी नियोगमा ५ सय ६९ जना छन् ।

दिल्ली दूतावासका अनुसार काबुलस्थित क्यानडेली दूतावासमा कार्यरत ६२ जना सबैको उद्धार भइसकेको छ । दिल्लीस्थित नेपाली नियोग उपप्रमुख रामप्रसाद सुवेदीका अनुसार जापानी दूतावासमा ७२ जना छन् । तिनलाई जापानले ७२ घण्टाभित्र उद्धार गरिसक्ने प्रतिबद्धता जनाएको सुवेदीले बताए ।त्यस्तै, डेनमार्क दूतावासमा रहेका २ जना नेपालीको उद्धारका लागि दिल्ली दूतावासले भारतको विदेश मन्त्रालयलाई औपचारिक रूपमै आग्रह गरेको छ । डेनमार्क दूतावासमा एक सय जना भारतीय कार्यरत रहेकाले उनीहरूसँगै दुई जना नेपालीलाई पनि दिल्ली ल्याइदिन लिखित आग्रह गरिएको सुवेदीको भनाइ छ । नेपालको आग्रहलाई भारतीय विदेश मन्त्रालयका अधिकारीले सकारात्मक रूपमा लिएका सुवेदीले बताए ।

त्यस्तै, जर्मन दूतावासमा १ सय ३५, बेलायती दूतावासमा ८७ र युरोपेली संघको नियोगमा ७४ नेपाली कार्यरत छन् । ती सबैको उद्धारका लागि सम्बन्धित देशका अधिकारीहरूसँग समन्वय भइरहेको सुवेदीले बताए ।संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत ४ सय ६७ जना नेपाली रहेको दूतावासको भनाइ छ । उनीहरूको तत्कालै उद्धार गर्नुपर्ने अवस्था नरहेको सुवेदीको भनाइ छ । ‘यूएन मिसनमा रहेकाले तत्काल उद्धार गर्न भनेका छैनन् । बरु उनीहरू पालैपालो बिदामा नेपाल जाने जानकारी आएको छ,’ सुवेदीले भने ।श्रम स्वीकृति लिएर औपचारिक माध्यमबाट अफगानिस्तान पुगेका नेपालीको उद्धारका लागि दूतावासले पहल गरिरहे पनि अवैध रूपमा त्यहाँ पुगेकाहरूको उद्धारमा चुनौती देखिएको छ ।

Inside Article Ads

‘कतिपय भर्खरै मात्र त्यहाँ पुगेका रहेछन्, कतिको भिसा सकिएको रहेछ । उनीहरू बढी चिन्तित पाइएका छन्,’ दूतावासका अर्का एक अधिकारीले भने, ‘उनीहरूलाई हामीले जसरी र जुनसुकै माध्यमबाट गएको भए पनि उद्धार हुन्छ भनेर ढाडस दिइरहेका छौं ।’तर उनीहरूको उद्धार कसरी गर्ने भन्नेमा दूतावास आफैं प्रस्ट छैन । ती अधिकारीका अनुसार उनीहरूको उद्धारका विषयमा परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट निर्देशन आएको छैन । नेपालस्थित उनीहरूका आफन्तले पनि आत्तिँदै दूतावासमा सम्पर्क गरिरहेको दूतावासको भनाइ छ । मंगलबार साँझसम्म १ सय ५० भन्दा बढीले दूतावासले उपलब्ध गराएको हटलाइनमा सम्पर्क गरेका छन् ।

तीमध्ये काबुलनजिक एउटा रेस्टुराँका ३० जना कामदारले उद्धारका लागि दूतावासलाई गुहारेका छन् । मंगलबारसम्म २ सय ५६ नेपालीले काठमाडौंस्थित कन्सुलर सेवा विभागको वेब पोर्टलमा उद्धारका लागि पहल गरिदिन विवरण टिपाएका छन् ।त्यस्तै, मंगलबार अफगानिस्तानमा विकसित परिस्थितिपछि देश छाड्न चाहनेलाई सुरक्षित र व्यवस्थित रूपमा हवाई, स्थल वा अन्य सीमानाकाबाट बाहिरिन दिन अफगानिस्तानको नेतृत्वलाई आग्रह गरिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा व्यक्तिको जीवन, सम्पत्तिको सुरक्षा गर्ने स्थानमा रहेकाहरूले त्यसका लागि सहयोग गर्नुपर्ने उल्लेख छ ।

(कान्तिपुर दैनिक)

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.