
काठमाडौँ — २ भाद्र २०७८
काठमाडौँ , ब्रिटिस सेनाले बेलायती कम्पनीमार्फत काबुलमा कार्यरत ४ सय ३७ नेपालीलाई उद्धार गरी बेलायत लगेको छ । बेलायती कम्पनी हार्ट ल्यान्ड, हार्ट इन्टिग्रेटेड सोलुसन, गार्डा दी वल्र्डवाइड र जिफोरएस कम्पनीमा कार्यरत सुरक्षा गार्ड र कर्मचारीलाई सैन्य विमानमा दुबई हुँदै बेलायत पुर्याइएको हो । ‘हाम्रा साथीहरूलाई मंगलबार बिहानदेखि नै काबुल विमानस्थलबाट ब्रिटिस सेनाले लैजान थालेको हो । मेरो चौथो लटमा मंगलबार तीन बजे मात्रै पालो आयो । त्यसपछि दुबईको विमानस्थलमा ल्याएर एक छिन राख्यो । अहिले बेलायत ल्याइपुर्याएको छ,’ एक नेपाली सुरक्षा गार्डले कान्तिपुरलाई भने, ‘अब यहाँबाट होटल लैजाने कुरा छ । मभन्दा अगाडि उडेका साथीहरू पनि होटलमै छन् । त्यसपछि नियमित उडानमार्फत काठमाडौं पठाउने सुनेका छौं ।’
