
काठमाडौँ — १ भाद्र २०७८
काठमाडौँ , संघीय संसद्को राष्ट्रिय सभा, प्रतिनिधिसभा र विषयगत समितिमा ५५ विधेयक छन् । तिनलाई अघि बढाउने प्रक्रिया भने थालिएको छैन । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा ३६ र राष्ट्रिय सभामा १९ वटा विधेयक छन् । तीमध्ये १०–१० वटा विधेयक दुवै सदनको विषयगत समितिमा छलफलका क्रममा छन् ।गत पुसयता मात्रै दुईपटक प्रतिनिधिसभा विघटन भएको थियो, जसले संसद् १३ महिनादेखि कामविहीन छ । सर्वोच्च अदालतको आदेशले दोस्रोपटक ब्युँतिए पनि संसद्लाई चलायमान बनाउन सरकारले चासो दिएको छैन । एमाले सांसद तथा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल संविधान निर्माणपछिका दुई वर्ष कानुन निर्माणका तीव्र गतिमा भए पनि पछिल्लो एक वर्षमा केही समस्या देखिएको बताए ।
अघिल्लो सरकारले २०७७ असार १८ मा ‘बिजिनेस’ नभएको भन्दै संसद्को छैटौं अधिवेशन अन्त्य गरेको थियो । त्यति बेला संघीय संसद्मा ४७ वटा विधेयक प्रक्रियामा थिए । छैटौं अधिवेशन गर्ने बेला सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग परामर्शसमेत गरिएको थिएन । तत्कालीन नेकपाको आन्तरिक विवाद चर्किंदै गएकाले संसद् अधिवेशन खुसुक्क अन्त्य गरिएको थियो । त्यसपछि प्रतिनिधिसभाले कानुन निर्माण सम्बन्धी कुनै निर्णय गरेको छैन । बैठकहरू शोक प्रस्ताव पारित गर्ने, विश्वासको प्रस्ताव राख्ने तथा अध्यादेश, संवैधानिक आयोग र विषयगत समितिले वार्षिक प्रतिवेदन पेस गर्नेमै सीमित भएका छन् । सातौं अधिवेशन बोलाउनैपर्ने समय आउन लाग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा नै विघटन गरे ।
