
मोरङ — १ भाद्र २०७८
प्रदेश १ सभाको चालु बजेट अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को सोमबार दिउँसो बसेको बैठकले बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।सरकारले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख अधिकारीले अधिवेशन अन्त्य गरेका हुन् । सभामुख प्रदीपकुमार भण्डारीसँग समेत सल्लाह नगरी प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको छ ।
सभामुख भण्डारीले सोमबारको बैठकमा मंगलबार १ बजेका लागि प्रदेशसभा बैठक बोलाइसकेका थिए । तर सरकारले हठात् अन्त्य गरिदिएको हो । प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकमा संशोधन दर्ता गराउन सभामुखले सांसदलाई आइतबार ७२ घण्टाको समय दिएका थिए ।प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थ समितिमा छलफलमा पठाउन आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले गरेको प्रस्ताव पारित गरेको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सोमबार प्रदेशसभामा पेस गरिएको अवस्थामा अधिवेशन अन्त्य गरिएको छ ।
कांग्रेसका नेता राजीव कोइरालाले चलिरहेको अधिवेशन हठात् अन्त्य गर्नुले प्रदेश सरकारको सदनप्रतिको गैर जिम्मेवारीपन उदांगिएको बताए । ‘अधिवेशन अन्त्य गर्नु सरकारको अत्यन्तै अलोकतान्त्रिक र गैरजिम्मेवारीपूर्ण कार्य हो,’ उनले भने, ‘दलसँग पनि कुनै सल्लाह नगरी सरकारले ओली प्रवृत्ति दोहोर्याएको छ ।’जसपाका नेता जयराम यादवले बजेट अधिवेशन बीचमै अन्त्य गरेर सरकार अप्रजातान्त्रिक र अलोकतान्त्रिक बनेको बताए ।प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशसभामा सांसद उपस्थित कम हुनु र विधेयक छलफलमा चासो नभएकाले अधिवेशन अन्त्य गरिएको बताए ।
(कान्तिपुर दैनिक)
