Fast Nepal News

भरिन थाले कोभिड अस्पताल

banner single news

झापा —  १ भाद्र २०७८

झापा, प्रशासनले लागू गरेको निषेधाज्ञाकै समयमा झापामा भने कोरोना संक्रमण उच्च वृद्धि भएको छ । परीक्षण आधारमा संक्रमण दर उच्च बन्दै गएको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को साउन १६ को बैठकपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको थियो ।तर, यो अवधिमा संक्रमण दर घट्नुको साटो झन् बढ्यो । प्रशासनले सोमबारदेखि निषेधाज्ञा थप खुकुलो पारेपछि संक्रमण दर फेरि बढ्न सक्ने अनुमान गरिएको छ ।सोमबार मात्रै झापामा २ सय ५ जना नयाँ संक्रमित थपिए । ४ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाईंले पीसीआर परीक्षण गर्नेमध्ये करिब ५० प्रतिशत संक्रमित छन् । आइतबार मेची प्रादेशिक अस्पताल र कनकाई पीसीआर प्रयोगशालामा २ सय ४४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएकामा १ सय ४४ मा संक्रमण देखिएको थियो ।

स्वास्थ्य कार्यालय प्रमुख योगराज घिमिरेले मास्क नलगाई हिँडडुल गर्ने प्रवृत्तिले संक्रमण दर बढेको बताए । उनी भन्छन्, ‘पछिल्लो समय पालिकाहरूले समेत परीक्षणलाई तीव्रता दिए, जसले संक्रमण दर बढेको देखियो ।’ उनका अनुसार सहरमा भन्दा ग्रामीण क्षेत्रमा मास्क लगाउनेको संख्या कम छ । यो पनि संक्रमण दर वृद्धिको कारण हो ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल झापामा पीसीआर परीक्षणबाट २ हजार ३ सय २५ र एन्टिजेनबाट ३ हजार २ सय १४ जना सक्रिय संक्रमित पुष्टि भएको हो । २ सय ७ जना अस्पतालमा र अन्य होम आइसोलेसनमा छन् । स्वास्थ्य कार्यालयका अनुसार १९ देखि ६० वर्ष उमेर समूहका संक्रमितको संख्या बढी छन् ।

यो समूहमा ७७.६२ प्रतिशत अर्थात् २ हजर ४ सय ९५ जना छन् ।१८ वर्षमुनिका बालबालिका ३ सय ४ जना र ६१ वर्ष माथिका ४ सय १५ जना संक्रमित छन् । अहिलेसम्म ५ सय १५ जनाको मृत्यु भइसकेको छ । दोस्रो लहर सुरु भएपछि मात्रै ३ सय ८६ जनाले ज्यान गुमाएका थिए । आइतबार ५ जनाको मृत्यु भयो । हालसम्म ७५ हजार १ सय ८८ मध्ये ४१ हजार ६ सय ४४ जना पोजिटिभ देखिएका थिए । ३० हजार ८ सय ३२ जना डिस्चार्ज भएका छन् ।पछिल्लो समय साइकल थ्रेसहोल्ड (सीटी) भ्यालु कम भएका संक्रमित ज्यादा छन् । मेची प्रादेशिक अस्पतालका पीसीआर ल्याब असिस्टेन जितेन्द्र झाका अनुसार सीटी भ्यालु १५–१६ मात्रै भएका संक्रमित धेरै छन् । सीटी भ्यालु कम भएकाहरूबाट अरूलाई संक्रमण गर्ने सम्भावना ज्यादा हुन्छ ।

Inside Article Ads

‘पहिला परिवारका एक जना मात्रै संक्रमित हुन्थे,’ ल्याब असिस्टेन जितेन्द्र झाले भने, ‘अहिले परिवारै संक्रमित हुने क्रम तीव्र छ ।’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा निषेधाज्ञा खुकुलो बनाइएको जनाए ।झाले बिहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुला गर्ने निर्णय गरेको जनाउँदै मापदण्ड पालना नभए अगामी हप्तादेखि पुनः कडा प्रकृतिको निषेधाज्ञा लागू गर्न सकिने चेतावनी दिए ।भदौ १ देखि पूर्ण रूपमा व्यवसाय सञ्चालनको माग गर्दै मेचीनगरका व्यवसायीले आइतबार नगरपालिकाका मेयर विमल आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कोरानाका कारण लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा, आर्थिक संकट पैदा भएको र व्यवसायीसमेत पलायन भएको जनाए ।

कोरोनाका संक्रमण र मृत्युदरमा कमी नआइरहेका बेला गत शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को टोलीले झापाको अनुगमन गरेको थियो ।सीसीएमसीको प्रमुख पूर्वरथी बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान् कोइराला, सेनाका उपरथी अनन्त कार्की, सशस्त्र प्रहरीका एआईजी पुष्पराज केसी, सेनाका महासेनानी लक्ष्मण थापा, डा. प्रकाश बुढाथोकीलगायत टोलीले संक्रमणदर रोकथामका लागि कडाइसाथ लाग्न सुझाव दिएका थिए ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.