Fast Nepal News

फेरि कटान–डुबान

banner single news

सर्लाही — १ भाद्र २०७८

सर्लाही, निरन्तरको वर्षापछि सर्लाहीमा कटान र डुबानको समस्या फेरि बढेको छ । जिल्लाको मध्यभाग भएर बग्ने लखन्देही खोलाले कटान गर्न थालेको छ भने दक्षिणी क्षेत्रमा पानीको निकास नहुँदा डुबानको समस्या छ ।लखन्देहीले हरिपुर नगरपालिका–९ ढापटोलस्थित बाँध कटान गरिरहेको छ । अन्तिम अवस्थामा रहेको बाँध भत्किए खेतीयोग्य जग्गा कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा छ । ढापटोलको कटानले ढापटोलसहित दक्षिण क्षेत्रमा पर्ने पिडारी, पिपरिया, रनियाँ, जमुनिया लगायतको बस्ती जोखिममा छन् ।

स्थानीय रिना महतोले खोलाले कटान गरिरहे पनि जनप्रतिनिधि सहितको टोली हेरेर फर्किने मात्र गरेको गुनासो गरिन् । पहिले बाँध बन्नुअघि खोला खेतीयोग्य जमिन हुँदै बस्ती पस्ने गरेको थियो । ‘अहिले बाँध कटान भए त्यही समस्या दोहोरिन्छ,’ उनले भनिन्, ‘जनधनको क्षति हुने चिन्ता बढेको छ ।’पिडारीका स्थानीय शिवनारायण चौधरीले राति खोलाको गर्जनले निद्रा हराउने गरेको बताए । ‘ढापटोलमा लखन्देहीले बाँध भत्काउन थालेको छ, त्यहाँ बाँध भत्किए हाम्रो बस्तीमा बाढी पस्न बेर छैन,’ उनले भने । दुई साताअघि कौडेना गाउँपालिका–७ सक्रौलमा लखन्देहीले भत्काएको बाँध मर्मत हुन नसक्दा जोखिम कायमै छ । मलंगवा नगरपालिका–५ भाँड्सरमा डुबानको समस्या छ । पानीको निकास नहुँदा यहाँ दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।

भाँड्सरमा लखन्देही खोलाको पानी बस्ती पसेको स्थानीयले जनाएका छन् । यहाँ घर डुबानमा पर्नुका साथै खेतबारी पनि जलमग्न बनेको छ । पानीले गाउँ पुग्ने बाटोसमेत अवरुद्ध बनाएको छ । बाटोमा कम्मरभन्दा बढी पानी छ । स्थानीयका अनुसार भाँड्सर र खुटौनाको बीचमा बाँध अधुरै रहेकाले खोलाको पानी गाउँ पसेको हो । स्थानीय समसुल हकले वर्षाको सिजनमा बर्सेनि डुबानको समस्या खेप्दै आएको बताए ।कटान रोक्ने जिम्मा पाएको जनताको तटबन्ध कार्यालय हरिपुरमा भने बजेट अभाव छ । कार्यालय स्थानीय तह तथा अन्य निकायको भरमा बसिरहेको छ ।

Inside Article Ads

स्थानीय तहले आर्थिक सहयोग गरे मात्र कार्यालयको प्राविधिक टोली बाँध मर्मतमा जुट्ने गरेका छन् । बोरामा बालुवा राखेर अस्थायी मर्मत गर्न लागिएको कार्यालयका प्रमुख रविन्द्र शर्माले बताए ।प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले स्थानीय तहको सहयोगमा जनताको तटबन्ध कार्यालयलाई तत्काल बाँध मर्मतमा जुट्न निर्देशन दिएको जनाए । उनका अनुसार ढापटोलको बाँध मर्मतमा तटबन्ध कार्यालय जुटेको छ ।उनले सक्रौलको बाँध मर्मतमा पनि एक प्राविधिक टोली खटिएको जानकारी दिए । तटबन्ध कार्यालयसँग बजेट नभए पनि बाँध मर्मतका लागि प्रयोग हुने बोरा लगायतको सामग्री रहेकाले स्थानीय तह र प्रहरीको सहयोगमा काम सुरु गरिने उनको भनाइ छ ।

(कान्तिपुर दैनिक)

Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.