Fast Nepal News

‘भाइरल रोड’ बाट संक्रमण जोखिम

banner single news

कञ्चनपुर — ३२ श्रावण २०७८

कञ्चनपुर, कोरानाको दोस्रो लहर ओरालो लागेपछि महाकाली नदी किनारमा निर्माणाधीन ६ लेनको सडक एकाएक ‘भाइरल’ बन्यो । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटक जताततै यही सडक देखिन थाल्यो । जिल्लामा फेरि संक्रमण उकालो लागेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा पनि जारी छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि सूचना जारी गरेकै छ । तर महाकाली नदी किनारको भाइरल रोडमा हुने भीडभाड भने दिनहुँ बढ्दै गएको छ । अझ शनिबार र अन्य बिदाका दिन यहाँ मेला महोत्सवजस्तै भीड लाग्छ । यही भीडबाट संक्रमण पुनः फैलिने जोखिमसमेत बढेको छ । यहाँ घुम्न आएकाहरूले नत मास्क लगाएका हुन्छन्, न भौतिक दुरी नै बनाएका हुन्छन् ।

‘भाइरल रोडको भीडभाड हेर्दा संक्रमण पनि भाइरल हुने देखिन्छ,’ भीमदत्त नगरपालिका १२ का करन धामीले भने, ‘साँझपख सडक पुरै भरिएको हुन्छ, विवाह व्रतबन्धलगायत गतिविधिमा समेत रोक लगाउने प्रशासन के हेरेर बसेको छ ?’ उनका अनुसार भाइरल रोडमा स्थानीयसँंगै महेन्द्रनगर बजार क्षेत्र र आसपासका समेत घुम्न आउने गरेका छन् । बुधबार भीमदत्त नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले उक्त क्षेत्रमा घुम्न पुगेकाहरूलाई मास्क विरतण गरे । उनीहरूलाई सामाजिक दूरीसमेत कायम गर्न अनुरोध गरे ।भाइरल रोडमा हुने अवाञ्छित गतिविधिसमेत रोक्न स्थानीयले प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायलाई आग्रह गरे । उनीहरूले रोडमा जथाभावी मोटरसाइकल हाँक्ने, ४/५ जनासम्म बोकेर अनियन्त्रित ढंगले महिला र युवतीहरूलाई जिस्क्याउनेलगायत गतिविधि भइरहेकाले रोक्न आग्रह गरेका हुन् ।

‘अनियन्त्रित ढंगले सवारीसाधन हाँकिरहेका छन्, महिलाहरूका चुन्नीलगायत कपडा तान्ने गतिविधि भइरहेको छ,’ अधिकारकर्मी अञ्जु भट्टले भनिन्, ‘यो विषयमा समयमै सजग हुन र आवश्यक सुरक्षाकर्मी परिचालन गर्न हामीले सुरक्षा निकायलाई आग्रह गरेका छौं ।’ भाइरल रोडमा मात्रै हाइन जिल्लाका अन्य पर्यटकीय स्थल र व्यापारिक स्थलहरूमा पनि भीडभाड अनियन्त्रित बन्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांकअनुसार केही दिनयता कोरोना संक्रमित हुनेको संख्या दोब्बर तेब्बर हुन थालेको छ । यस्तो अवस्थामा अनियन्त्रित भीडभाडले अझै जोखिम निम्तिन सक्ने देखिन्छ ।

Inside Article Ads
‘हामीले भीडभाड कम गर्नुस्, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुस् भन्दै आएका छौं, यही अनुसार सूचना पनि जारी गरिरहेका छौं,’ प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भने, ‘अब संक्रमण बढ्दै गए कडाइ गर्दै जाने र अन्तिममा लकडाउनमै जाने हो ।’ उनले अहिले मास्क अभियान सुरु गर्दा महेन्द्रनगर क्षेत्रमा मास्क लगाउनेको संख्या बढ्दै गएको बताए । जिल्लाका ग्रामीण भेगमा भने अझै मास्क लगाउने बानीको विकास नभएको देखिएको उनले बताए ।

‘भाइरल रोडमा हुने अवाञ्छित गतिविधि रोक्न तत्काल अस्थायी प्रहरी विट राख्ने वा अन्य केही व्यवस्था गर्ने भन्नेमा हामी छलफल गरिरहेका छौं,’ प्रजिअ पाण्डेले भने, ‘उक्त क्षेत्रमा सुरक्षा निकायको उपस्थिति हुने गरी अगाडि बढेका छौं ।’ उनले भाइरल रोडमा बढ्दै गएको भीड नियन्त्रणतर्फ पनि कडाइका साथ जाने बताए ।

(कान्तिपुर दैनिक)

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.